होमपेज / समाज
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन् । बुधबार राति कारागारको झ्याल उक्काई फरार भएको प्रहरीले बताएको छ । थुनुवा राति नै फरार भए पनि सुरक्षार्थ खटिएका प्रहरीले भने बिहीबार बिहान मात्रै थाहा पाएका हुन् ।
पक्की थुनुवा घरको पछाडी पट्टीको झ्याल नै उक्काएर तीन जना ब्राउन सुगर लागू औषध मुद्दामा पक्राउ परेकाहरू भागेको सुर्खेत प्रहरीले जनाएको छ । कडा सुरक्षा निगरानीमा रहेको थुनुवा घरमा प्रहरीलाई छल्दै तीन जना थुनुवा भाग्न सफल भएपछि अहिले जिल्ला प्रहरी कार्यालय भित्र कसरी भागे भन्ने बारेमा खैलाबैला मच्चिएको छ ।
जिल्ला प्रहरी कार्यालय पछाडिको भवनकोे झ्याल उक्काई फरार हुने थुनुवामध्ये वीरेन्द्रनगर ६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्रम लागु औषधसहित पक्राउ गरेको थियो । यस्तै सोही मितिमा वीरेन्द्रनगर नगपालिका–६ कै २० वर्षका सुनिल थारुलाई १२० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
त्यस्तै, भेरीगंगा नगरपालिकाका स्थायीबासिन्दा भई हाल वीरेन्द्रनगर ११ मा बस्दै आएका २१ वर्षका सन्देश केशरा पनि फरार भएका छन् । उनलाई २०७६ फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर लागुऔषधसहित पक्राउ गरेको थियो । तिनैजना उक्त थुनुवा कक्षबाट फरार भएका हुन्।
नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लोकराज तिमिल्सेनाले तीन जना फरार भएको पुष्टि गरेपनि कसरी फरार भए भन्ने बारेमभा छानविन भैरहेको जानकारी दिए। ‘प्रदेश राजधानी समेत भएकाे सुर्खेतको कडा सुरक्षाका बीच तीनजना थुनुवा कसरी फरार भए भन्नेमा प्रहरीले प्रारम्भिक अध्ययन गरिरेहको छ ।’ उनले भने, ‘हामीले आजै छानविन समिति गठन गरेर ‘छानविन समितिले सत्यतथ्य बुझेर तयार पारेको प्रतिवेदनका आधाारमा कारवाहीको लागि सिफारिसका लागि सम्बन्धित निकायमा पठाइने छ ।’