होमपेज / समाज
रौतहट। अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीसँग संघर्ष गरिरहेको छ । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले तीव्र रूपमा विश्वभर फैलिरहेकाे छ । यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको व्यक्ति–व्यक्तिबीचमा भौतिक सम्पर्क नहुनु नै हो । यसै कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले गत मंगलबारदेखि देशैभर एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको समयमा बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन् भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु मात्र बिहान र साँझको समय पारेर खोलिएका छन् ।
यस्ता पसल तथा बजारहरुमा मानिसको भीड हुने र दुरी कायम नहुने हुँदा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने प्रबल सम्भावना रहेको छ । तर लकडाउनको समयमा पनि खाद्यान्न, तरकारी, ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आवश्यकता पनि परिपूर्ति गर्नै पर्छ । यसका लागि अनुशासित, व्यवस्थित किनमेल उत्तम उपाय हाे । यहीँ कुरालाई मध्यनजर गर्दै जिल्लाको गौर नगरपालिकाले सशस्त्र प्रहरीको सहयोगमा कम्तीमा पनि तीन फिटको दुरी कायम गरेर किनमेल गर्ने व्यवस्था मिलाएको छ । बिहीबारदेखि गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाटबजार सञ्चलानमा ल्याएको हो । नगरपालिका कार्यालयभन्दा पूर्वपट्टि रहेको तरकारी बजारलाई बिक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।
अबदेखि यस बजारमा किनमेल गर्नेहरुबीचमा तीन फिटको दुरी हुनेछ । सो बजारमा सशस्त्र प्रहरीले सामान किन्ने र बेच्नेहरुका लागि वर्गाकार घेरा बनाइदिएको छ । क्रेताका लागि सानो र विक्रेताको लागि ठुलो घेरा बनाइएको सशस्त्र प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरिक्षक रविनराज कर्णजीतले बताउनुभयो । क्रेता–क्रेता तथा विक्रेता बीचमा सामाजिक दुरी कायम रहोस् र किनमेल पनि पूरा होस् भनेर यो उपाय अपनाइएको उहाँले बताउनुयो । हाल गौरको तरकारी बजारबाट सुरु गरिएको यो अभ्यास विस्तारै खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुहरुकाे बजारमा पनि लागू गरिने उहाँको भनाइ छ ।

‘यो नमुनाको लागि सुरुवात गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘अब विस्तारै अन्य पसलहरु तथा जिल्लामा रहेका अन्य स्थानीय तहहरुमा पनि यो अभ्यास गराउनु उपयुक्त हुन्छ । यसका लागि ती स्थानीय तहसँग हामी सहकार्य गर्दैछौँ ।’ सो बजारमा सामाजिक दुरी कायम गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ भने किनमेल गर्न आउने सबै सर्वसाधरणको लागि मास्क अनिवार्य गरिएको छ । यो बजारमा आएपछि कसैले पनि तँछाडमछाड गर्न, भीड गर्न र अनावश्यक गफ गरेर बस्न पाउने छैनन् । बजारमा किनमेल गरेर सकिएपछि क्रेता यताउता नडुलीकन सिँधै घर जानुपर्ने छ । यो कुराको निगरानी सुरक्षाकर्मीले नियमित रुपमा गर्नेभएका छन् ।
त्यसैगरी त्यहाँ ड्युटी गर्ने सशस्त्र प्रहरीहरुलाई पनि मास्क र पञ्जा अनिवार्य गरिएको छ । बजारमा कसैले कसैलाई छुन नपाउने गरि व्यवस्था मिलाइएको छ । किनमेल गर्नेले पनि मास्क लगाउने गरेका छन् । भाैतिक दुरी कायम गर्दै उपभोक्तालाई उपभाेग्य सामानकाे आपुर्ति मिलाउन यस्तो उपाय अपनाइएको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले बताउनुभयो । लकडाउनको बेला पनि सर्वसाधरणलाई दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्ने भएकाले यस्तो उपाय अपनाइएको उहाँले बताउनुभयो ।
‘भीडभाडमा किनमेल गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्नसक्छ,’ उहाँले भन्नुभयो , ‘त्यहीँ संक्रमणको जोखिमलाई कम गर्दै सर्वसाधरणका लागि चाहिने सामानहरुको किनमेल गराउन यो व्यवस्था गरेका हौँ । अब यसलाई हामी अन्य पसलहरुमा पनि विस्तार गछौँ ।’ उहाँले लकडाउनको मौका छोपी कालाेबजारी पनि हुनसक्ने भन्दै नियमित रुपमा बजार अनुगमन गरिरहेको सुनाउनुभयो ।
यस्तो खाले व्यवस्थालाई देशभरका अन्य स्थानीय तहले पनि विस्तार गर्नुपर्ने चन्द्रपुर नगरपालिकाका व्यवसायी सुरेन्द्र सापकोटाले बताउनुभयो । यसरी व्यवस्थित रुपमा निश्चित दुरी कायम गर्दै संचालन गरिएको किनमेलबाट उपभोक्ताको आवश्यकता पनि पुरा हुने तथा कोरोना भाइरसको संक्रमणको जोखिम पनि न्यून हुने राम्रो कदम रहेको उहाँको भनाइ छ । न्युज २४ बाट ।