ट्रेण्डिङ

होमपेज / समाज

नोवल कोरोना भाइरसका सम्बन्धमा मुख्यमन्त्री शाहीद्वारा कर्णाली प्रदेशबासीलाई आह्वान

नेपालगाथा २०७६ चैत्र १४ गते शुक्रबार २०:५६:३७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा नोवल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामी भेटिएबाट यसको सम्भावित जोखिम रोकथामका लागि गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुन हार्दिक आव्हान गर्नुभएको छ । 
नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म घरभित्र बस्ने गरी देशभर बन्दको आदेश (लक डाउन) गरेकाले यस्तो विषम परिस्थितिमा आम जनसमुदाय आफ्नो घरबाट बाहिर ननिस्कनुहुन मुख्यमन्त्री शाहीले आग्रह गर्नुभएको छ ।  साथै उहाँले कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाड हुने गरी कुनै पनि कार्य नगर्नुहुन र सरसफाइ तथा स्वास्थ्य सावधानीका उपायहरु अपनाउनुहुन समेत अनुरोध गर्नुभएको छ ।    
कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गरेको बताउँदै मुख्य मन्त्री शाहीले विपद् व्यवस्थापनको लागि स्थापना गरिएको कोषमा मुख्य मन्त्री र मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक जम्मा गरेको जानकारी दिनुभयो । साथै उहाँले जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, उद्योगी, व्यापारी, अन्य संघ संस्थाहरु र दाताहरुलगायत आम नागरिकलाई यस कोषमा आआफ्नो तर्फबाट सहयोग गर्नको लागि समेत आव्हान गर्नुभएको छ ।
प्रदेश सरकारको नेतृत्वमा राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी समेतको संलग्नतामा औषधि, स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति, दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थापन समिति, सम्भावित जोखिममा रहेकाहरुलाई क्वारेन्टाइन तथा शान्ति सुरक्षा समिति लगायतका समितिहरुले रोकथाम, नियन्त्रण र उपचारका क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको समेत बताउनुभयो ।  
जिल्ला विपद् व्यवस्थापन समितिका लागि आवश्यक कोषको व्यवस्था गर्नुका साथै कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीलाई हरसम्भव परिचालनको व्यवस्थासमते कर्णाली प्रदेश सरकारले मिलाएको जनाएको छ ।
प्रदेश सरकारले कोरोना संक्रमणबाट प्रभावित मानिसको उद्धार तथा अन्य सहयोगका लागि १११० नम्बरको हटलाईन सेवा सञ्चालन गरेकोसमेत जनाएको छ ।
स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, सभाका सदस्यहरु, सामुदायिक संघ संस्था र नागरिक समाजलाई आग्रह गर्दै मुख्य मन्त्री शाहीले ज्वरो आउने, थकान महसुस हुने, सुख्खा खोकी लाग्ने, सास फेर्न कठीन हुने, मांशपेशी दुख्नेजस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था, अस्पताल वा हेल्थ डेस्कमा सम्पर्क गर्न तथा हटलाईन सेवा १११० र फोन नं. ०८३–५२२५२६ मा सम्पर्क गर्नुहुन आग्रह गर्नुभएको छ । 
साथै कोरोना संक्रमण विरुद्धको कारवाहीमा अग्रपङ्तीमा खटिनुहुने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उच्च मनोवलसाथ काम गर्ने वातावरण निर्माणको लागि सहयोग गर्न आम नागरिकलाई हार्दिक अपिल गर्दै मुख्य मन्त्री शाहीले यस कठिन घडिमा अत्यावश्यक उपभोग्य सामाग्री सहज उपलब्ध गराइदिनुहुन निजी क्षेत्र एवं नागरिक समाजलाई आव्हान गर्नुभएको छ । साथै उहाँले आम उपभोक्ताले समेत उपभोग्य सामाग्री अनावश्यक सञ्चित नगरी जनजीवनलाई सामान्य वनाउन सहयोग गरिदिनुहुन आग्रह गर्दै यस्तो विषम परिस्थितिमा कोरोना संक्रमण विरुद्धको साझा अभियानलाई जो जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ डराएर र आत्तिएर होइन धैर्यता र संयमता अपनाएर कोरोना संक्रमणबाट आफूलाई सुरक्षित राखी परिवार तथा समाजलाई सुरक्षित राख्न सहयोग गरिदिनु मुख्य मन्त्री शाहीले आम कर्णालीबसाीलाई अनुरोध गर्नुभएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top