होमपेज / समाज
सल्यान। कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सल्यानको कपुरकोट गाउँपालिकाले आगामी चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ती निकालेर संघीय सरकारको निर्णय बमोजिम ९ गतेदेखि चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले विज्ञप्ती जारी गर्दै गाउँपालिकाअन्तर्गतका कार्यालय, शाखा, फाँट, ईकाईबाट अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाएको छ ।
गाउँपालिकाले विज्ञप्ति मार्फत कोरोना संक्रमणबाट बच्न सतर्कताको विभिन्न प्रयासहरु भइरहेको समेत जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा कपुरकोटमा हेल्थ डेस्क स्थापना गरी चौबिसै घण्टा चेक जाँच भइरहेको र पालिकाभित्रका ६ वटै वडाहरुमा आवश्यक स्वास्थ्यकर्मीसहित सतर्कता समिति गठन गरी कोरोनाबाट जोगिनका लागि आवश्यक कदमहरु चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।