ट्रेण्डिङ

होमपेज / समाज

बाँकेको सबै नाका ‘सील’

नेपालगाथा २०७६ चैत्र १० गते सोमबार ११:०४:१८ मा प्रकाशित

बाँके। बाँकेका सबै नाका सील गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतीय नाका बन्द गरिएको हो । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर क्षेत्र पर्छ । ६५ किलोमिटरमा साना ठूला थुप्रै नाकाहरु रहेका छन् । आइतबारदेखि ती सबै बन्द गरिएको छ । नाकाको भीडलाई कम गर्न केही दिनदेखि सवारी साधन निषेध गरिएको थियो । त्यसका बाबजुद भीड कम नभएपछि आइतबारदेखि नाका सील नै गरिएको हो । अत्यावश्यक मालवाहक ट्रक, एम्बुलेन्सलाई रोकिएको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओली, सशस्त्रका एसपी दीपक अधिकारी र भारत बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमारका बीचमा आइतबार नाकामा भएको भेटपछि नाका सील गरिएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले अत्यावश्यक बस्तु ल्याउनु बाहेक सील गरिएको बताए । उनका अनुसार, एक हप्ताका लागि सीमा सील गरिएको छ । भारतमा समेत कोरोना संक्रमित भेटिएपछि नेपालगञ्ज नाकालाई जोखिम मानिएको छ । भारतका उद्योग, कलकारखाना, पसलहरु बन्द हुँदा दैनिक हजार बढी नेपालीहरु घर फर्किरहेका छन् । त्यसका बाबजुद भारतबाट दैनिक नेपालमा काम गर्न आउने मजदुरको भीड त्यत्तिकै धेरै थियो । सीमावर्ती रुपैडिहामा बजारमा किनमेल गर्न जाने नेपालीको संख्या पनि अधिक रहने गर्दछ ।

केही दिनअघि एक्कासी नेपालगञ्ज आइपुगेका बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमारले नाकाको भीड रोक्न सुझाव दिएका थिए । त्यसलगत्तै नाका भन्दा तीन किलोमिटर टाढा नै सवारी साधन निषेध गरिएको थियो । त्यसो गर्दा पनि भीड नरोकिएपछि आइतबारदेखि एक हप्ताका लागि सीमा सील नै गरिएको छ । बाँकेका एसपी ओलीले ६५ किलोमिटर क्षेत्रमै प्रहरीले बसेर वतजावत रोक्ने बताए ।  नेपालगञ्ज नाकाबाट मात्रै केही दिनमै ३९ हजार १ सय १६ जना भित्रिसकेका छन् ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बोर्ड बैठकले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले भीडभाड हुने रानीतलाउ, महेन्द्र पार्क, चाट पसलहरु बन्द गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्कमा आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् । यी दुवै ठाउँ १५ दिनसम्म बन्द गर्ने निर्णय भएको छ ।

उपमहानगरपालिकाले १५ दिनसम्म नगर बस बन्द गर्ने र भाडा मिनाहा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले ७ वटा नगर बस खरिद गरेर ठेक्का सञ्चालन गरिरहेको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आवश्यक परे आफ्ना दुई वटा पार्टी कार्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाउन दिने निर्णय गरेको प्रचार संयोजक प्रमोद धितालले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top