होमपेज / समाज
सुर्खेत, । च्याम्पियन बुक अफ द वल्र्ड रेर्कड २०२० मा नाम लेखाउन सफल कालीकोटका विजय शाहीले आफ्नो क्षमता बाँड्ने बताएका छन् । फेब्रुअरी ३ मा च्याम्पियन बुक अफ द वल्र्डमा विश्वभरका मानिसहरुलाई पछि पार्दै ३० सेकेन्डमा १ सय २ शब्द स्मरण गर्दै उनले च्याम्पियन बुकमा विश्व रेकर्ड कायम गरेका थिए । १९ वर्षको उमेरमै च्यापम्यिनमा नाम राख्न सफल भएका विजयले ज्ञान तथा क्षमता कर्णालीबासीसँगै समग्र देश भर नै बाँड्न चाहेको बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले अबको ५ वर्षभित्र पूरा नेपाल भर नै आफ्नो क्षमता बाँड्ने बताएका छन् । कक्षा १ देखि ६ सम्म वीरेन्द्रनगर सुर्खेतको यज्ञ पिस होम एकेडेमी सुर्खेतमा अध्ययन गरेका शाहीले ७ देखि १० सम्म कालीका माध्यमिक विद्यालय महाबै गाउँपालिका कालीकोटमै अध्ययन गरेका थिए । कक्षा ११, १२ पढ्दै गर्दा कालीका माध्यामिक विद्यालय पिली कालीकोट सर्वोत्कृष्ट नतिजाका साथ अद्भूत ज्ञान पाएका शाहीले अध्ययन गर्ने क्रममा आफूले एउटा फर्मुला पत्ता लगाएको र त्यही फरमुला हरेक विद्यार्थीलाई सिकाउने तयारी गरिरहेको बताएका छन् ।
विश्व रेकर्ड कायम गरेपछि देश तथा विदेशका विभिन्न संघ संस्थाले उनलाई बोलाएपछि पहिला आफ्नै देशलाई शिक्षित बनाउने चाहना राखेका शाहीले पहिला देश अनि मात्रै परदेशमा आफ्नो क्षमता बाँड्ने बताएका छन् । आफ्नो अभियान कर्णाली प्रदेशबाट सुरु गर्ने भन्दै उनले समाजसेवा नै आफ्नो लक्ष्य भएको बताएका छन् ।
यस अघि गिनिज बुक अफ द वल्र्ड मा भारतका सागर भुजी र नेपालका अर्पण शर्माले नाम लेखाउन सफल भएका थिए । भने विजयले ती दुवै रेकर्ड ब्रेक गरेका हुन् । हाल विजय काठमाडौंमा एमविविएसको तयारीमा जुटिरहेका छन् भने तयारीमा जुड्दै गर्दा आफूले एउटा किताबसमेत लेखिसकेको र केही समय पछि प्रकाशन गर्ने समेत बताए ।