ट्रेण्डिङ

होमपेज / समाज

नौं हजार सात सयको स्वास्थ्य परिक्षण

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार १६:२०:४२ मा प्रकाशित

सल्यान । कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गतेदेखि शुरु भएको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म नौं हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना भाइरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ । ६ दिनको अवधिमा नाकाबाट प्रदेश भित्रने एक हजार ७ सय ५२ यातायातका साधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र तीन हजार ४० जना महिलाको जाँच गरिएको डेस्कका फोकल पर्सन देवेन्द्रकुमार सेनले जानकारी गराए । हालसम्म कुनै पनि कोरोनासँग सम्बन्धित लक्षण फेला नपरेको उनले जानकारी दिए ।  

भारतलगायत विभिन्न देशबाट फर्किएका नेपालीहरु कपुरकोट नाका भएर कर्णालीका विभिन्न जिल्लामा भित्रने भएकाले उच्च सतर्कता अपनाइएको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भीमबहादुर सेनले जानकारी गराए । पालिका र वडास्तरीय सतर्कता समिति गठन हुने बिहीबार नै कपुरकोट गाउँपालिकामा स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकी प्रमुखहरुसहितको बैठक सम्पन्न भएको छ ।

बैठकले गाउँपालिकाभित्र रहेका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेर हेल्थ डेस्कमा चौँबिसै घण्टा चेकजाँच गर्ने, गाउँपालिकास्तरीय र वडास्तरीय कोरोना भाइरस सतर्कता समिति गठन गर्ने निर्णय गरेको छ । पालिकास्तरीय समिति ९ गते कार्यपालिका बैठकबाट गठन हुने र वडास्तरीय समिति शुक्रबार नै सबै वडामा गठन हुने स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जनाएका छन् । बैठकले सतर्कतासम्बन्धी आवश्यक क्रियाकलापहरु सञ्चालनका लागि बजेट ब्यवस्थापन गर्न कार्यपालिकालाई अनुरोधसमेत गरेको छ । 

हेल्थ डेस्कमा सुरक्षाकर्मीको समेत आवश्यकता पर्ने तर अहिले अभाव रहेकाले जिल्ला प्रहरी कार्यालयलाई थप जनशक्ति व्यवस्थापनका लागि अनुरोध गर्ने, आवश्यक औषधि तथा उपकरणका लागी प्रदेश तथा संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको फोकल पर्सन सेनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top