ट्रेण्डिङ

होमपेज / समाज

सागका पदक विजेताले पेश्की फर्छौट गरेपछि मात्र पुरस्कार पाउने

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार १६:१३:२३ मा प्रकाशित

काठामाडौँ । सागका पदक विजेताले पेश्की फर्छौट भएपछि मात्रै पुरस्कार पाउने भएका छन् । गत मंसिरमा नेपालमा सम्पन्न १३औं खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघले पेश्की फर्छौंट गरेपछि मात्र पुरस्कार पाउने भएका हुन् । युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर बिकेका अनुसार पुरस्कार पाउनले नै बेरुजु वा अन्य बाँकी रहेको नरहेको भन्ने स्वघोषणा गर्ने बाध्यात्मक व्यवस्था छ । ‘पुरस्कार पाउनेले सरकारलाई तिर्न, बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी रहेको नगरेको भन्ने स्वघोषणा गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले राष्ट्रिय खेलकुद परिषद्मा पेश्की फर्छौंट गर्न बाँकी तथा बेरुजु नभएको भनी परिषद्ले सिफारिस गर्न पत्राचार गरिएको छ,’ विकेको भनाइ छ ।

अब सबै खेलाडीको पेश्की फर्छौटको प्रक्रिया सकिएपछि पुरस्कार उपलब्ध गराइने उनको भनाइ छ । यसअघि मंगलबार पुरस्कारका लागि गठित खेलकुद पुरस्कार तथा सम्मान समितिको बैठक बसेको थियो । बैठकमा पेश्की फर्छौंट भएपछि पुरस्कार दिने विषयमा छलफल भएको थियो । पुरस्कार सम्बन्धितको बैंक खातामार्फत उपलब्ध गराइनेछ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सबैको खाता अद्यावधिक गरिसकेको मन्त्रालयले जनाएको छ ।

नियमावली अनुसारको पुरस्कार रकम अर्थ मन्त्रालयले खेलकुद मन्त्रालयलाई निकासा गरिरहेको छ । यसअघि गत फागुनको साता मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो । कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई ३ लाख दिने व्यवस्था रहेको छ । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरि कार्यविधिमा संशोधन गरिएको छ । नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र काँस्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top