होमपेज / समाज
सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको अनुगमन तिव्र बनाएका छन् । जसअन्तर्गत सोमबार सुर्खेतको भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा भएका कृषि योजनाहरुको अनुगमन गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसहितको टोलीले दुई स्थानीयतहका सिंचाई कुलो, कृषि नमूना गाउँलगायतका योजनाहरुको अनुगमन गरेको छ । मन्त्री केसीसहित मन्त्रालयका सचिव राजेन्द्र भारी, मन्त्रालयका प्रवक्ता हरी पण्डित, कृषि विकास निर्देशनालय निर्देशक चित्रबहादुर रोकाया, योजना अनुगमन शाखाका यम रानालगायतको सहभागिता थियो ।
टोलीले गुर्भाकोट नगरपालिका मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले उत्पादन गरेको बिउ, सोही ठाउँमा लगाइएका ४० दिने मुला र मिनवर्ली मुलाको अनुगमन गरेको छ । यस्तै ७ नम्बर वडाकै झिङ्नेखोला झ्याङ्ग्रेघारी काउले टोलमा रहेका दुईओटा सिंचाई कुलाहरुको पनि अनुगमन गरिएको छ । कृषि विकास निर्देशनालय र स्थानीयको संयुक्त लागत सहित १५ र १५ लाखमा निर्माण गरिएका दुई सिंचाई आयोजनामा गुणस्तरीय काम भएको मन्त्री केसीले बताइन् ।
झिङ्नेखोला कृषि सिंचाई आयोजनाबाट १ सय ८० हेक्टर क्षेत्रफल अथवा २ सय ५० घरधुरी लाभान्वित हुने र काउलेखोला सिंचाई आयोजनाबाट करिव ४ सय घरधुरी लाभान्वित हुने काउलेखोला सिंचाई आयोजनाका अध्यक्ष रत्ना विकले जानकारी दिइन । सोही वडाको किच –शान्तिपुर सिंचाई आयोजनामा भने काम गर्न अफ्ठ्यारो ठाउँमा काम रोकिएको भन्दै रकम भएपछि काम अघि बढ्ने आयोजना अध्यक्ष भरत विकले बताए । करिव २५ लाख लागतमा निर्माणाधिन यो सिंचाई आयोजनाबाट २ सय ५० भन्दा धेरै घरधुरी लाभान्वित हुने देखिन्छ ।
यस्तै गुर्भाकोट–१३ सेराघारीमा वेतेनी खोला सेराघारी सिंचाई कुलो र लक्षित वर्ग कार्यक्रमको अनुगमन गरिएको छ । आयोजनाको ४ सय २५ मिटर बराबरको काम सम्पन्न भईसकेको बाँकी २ सय ७५ मिटर काम हुन बाँकी रहेको आयोजनाले बताएको छ । सबै आयोजनाको अनुगमन गर्दै मन्त्री केसीले सबै आयोजनाको काम समयमा नै हुने र गुणस्तरिय काम भएको बताइन् ।