होमपेज / समाज
सुर्खेत । कर्णालीमा दादुरा रुबेला खोप अभियान सुरु भएको छ । शनिबार वीरेन्द्रनगर ७ स्थित कटकुवा स्वास्थ्य चौकीबाट प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर अभियानको सुरुवात गरेका हुन् । कार्यक्रमको सुरुवात गर्दै मन्त्री रावलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सके प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालकी निर्देशक रिता भण्डारी जोशीले महत्वपूर्ण अभियानमा सहभागी भएर बच्चालाई खोप लगाउन आग्रह गरिन् ।
खोप एक जैविक तयारी वस्तु भएकाले यसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउने निर्देशक जोशीको भनाई थियो । कर्णाली प्रदेशमा ९ महिनादेखि ५ वर्ष मुनीका एक लाख ९० हजार ५ सय ७५ बालबालिकालाई दादुरा रुवेला खोप लगाइने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिए । जसमा सुर्खेतमा ३९ हजार सात सय १६ जनालाई तीन चरणमा लगाउने उनको भनाई थियो ।
जसमा पहिलो चरणमा चैत १ गतेदेखि ६ गतेसम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख वाग्लेको भनाई छ । सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त खोपकर्मी र ११ सय ६० स्वयंमसेवक परिचालन गरिएको उनको भनाई थियो ।