ट्रेण्डिङ

होमपेज / समाज

सबै वडामा कोरोना जाँच गरिदै

नेपालगाथा २०७६ चैत्र २ गते आइतबार १७:४८:५१ मा प्रकाशित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडामा कोरोना जाँचको व्यवस्था गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोरोना जाँच गर्ने उपकरण नपाउदा अलि समस्या भएको बताउदै २३ वटै वडामा कोरोना जाँचको व्यवस्था मिलाउन लागि परेको बताउनुभयो । उपमहानगरपालिकाले अहिले जमुनाहा नाका, नेपालगञ्ज विमानस्थल र उपमहानगरपालिकाको कार्यालयमा कोरोना जाँचको व्यवस्था मिलाएको छ । ‘छिट्टै सबै वडामा जाँचको व्यवस्था गर्छौ, चन्दले भन्नुभयो ।

नेपालगञ्ज बसपार्क र बागेश्वरी मन्दिरमा पनि जाँचको व्यवस्था गर्न माग गरिएको छ । बसपार्कमा सबैभन्दा पहिला राख्ने निर्णय भइसकेको चन्दले जानकारी दिनुभयो । नेपालगञ्जदेखि करिव दुई सय किलोमिटरको दुरीमा रहेको भारतको लखनऊमा कोरोना संक्रमित भेटिएपछि यता जोखिम बढेको छ । उपमहानगरपालिकाले नगरका सबै स्वास्थ्यकर्मीहरुलाई बोलाएर बिदामा नबस्न निर्देशन दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्ध अपनाइएको सतर्कता र भावी कार्ययोजनाका विषयमा शनिबार आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य शाखा प्रमुख चन्दले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिनु भएको हो ।

स्वास्थ्यकर्मीलाई क्रिया र सुत्केरी विदा बाहेक अन्य बिदा नदिइने चन्दले बताउनुभयो । उपमहानगरपालिकाले वडा स्तरसम्म रेपिड रेस्पोन्स टिम र विपद ब्यवस्थापन समिति समिति गठन गर्ने भएको छ । तीन दिनभित्र समिति गठन भइसक्ने चन्दले बताउनुभयो । छलफलको निर्णय अनुसार स्वास्थ्य संस्थाले औषधीको हालसम्मको विवरण उपमहानगरपालिकामा तत्काल पठाउने र हेल्थ डेस्कमा भएको चेकजाँचको विवरण पनि सोही साझ बुझाइने भएको छ । 

कोरोना भाइरस विश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै उपमहानगरपालिकाले गाउँगाउँ र टोलटोलमा सचेतना अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना विरुद्ध स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न छलफल कार्यक्रम गरिएको चन्दले बताउनुभयो । छलफलमा स्वास्थ्यकर्मीहरुले आफुहरुका लागि आवश्यक श्रोत साधन र उपकरण उपलब्ध हुनुपर्ने माग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाका, नेपालगञ्ज विमानस्थल र कार्यालयमा हेल्थ डेस्क सञ्चालन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top