होमपेज / समाज
जन्म कहाँ र कहिले भयो ?
मेरो जन्म २०२८ साल असार २९ गते गुर्भाकोट नगरपालिकाको वडा नम्बर ६ मा भएको हो ।
वीरेन्द्रनगरमा कहिले र के को सिलसिलामा आउनुभयो ?
वीरेन्द्रनगरमा म २०४५ सालमा अध्ययनको सिलसिलामा आएको थिएँ । एसएलसीसम्म गुर्भाकोट मै पढेको थिएँ । त्यसपछि वीरेन्द्रनगरमा रहेको तत्कालीन बहुमुखी क्याम्पसमा अध्ययन सुरु गरेको थिएँ ।
सामाजिक क्षेत्रमा कसरी लाग्नुभयो ?
वीरेन्द्रनगरमा बसेर अध्ययन गरिरहँदा मैले सरकारी जागिरका लागि धेरै पटक लोकसेवा आयोगसमेत पढें । विविध कारण सरकारी सेवामा प्रवेश गर्न सकिएन । पछि म २०५४ सालबाट सामाजिक क्षेत्रमा प्रवेश गरेको थिएँ । म स्नातक तह अध्ययन गर्दा यूएनडिपीको समुदायिक दिगो विकास कार्यक्रममार्फत ७ दिने तालिम लिएर पश्चिम सुर्खेतको तत्कालीन बेतान गाविसमा डेढ वर्ष काम गरें । विद्यापुरमा काम गरें, महिला जागरण मञ्चमा, इन्सेकको जिल्ला कार्यक्रम संयोजक, अन्तरनिर्भर समाज, संस्थागत विकास सञ्जालमा जोडिएर नागरिक शिक्षासम्बन्धी कार्यक्रम हेर्ने गरेको थिएँ ।
स्याक नेपालमा कार्यक्रम संयोजक भएर ४ वर्ष काम गर्दै अन्य विभिन्न संघ संस्थाहरु हुँदै म २०७४ सालदेखि सुन्दर नेपाल संस्थामा कार्यक्रम संयोजकको रुपमा काम गरिरहेको छु ।
हालको अवस्था के छ र भावी योजना के बनाउनु भएको छ ?
सुन्दर नेपाल संस्थाले हाल विभिन्न क्षेत्रमा काम गरिररहेको छ । जस्तैः शिक्षा, स्वास्थ्य, कृषि, नविकरणीय ऊर्जा, वन वातावरण, सरसफाई, सुशासन र मानव अधिकारसम्बन्धी कामहरु गरिरहेको छ । हाल, म शुसासन र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छु । पारस्पारिक जवाफदेहिता कार्यक्रमअन्तर्गत स्थानीय सरकार र नागरिक समाज बीचको सम्बन्ध र समन्वय कस्तो हुन्छ भन्ने सम्बन्धमा रहेर काम गर्ने गर्दछौँ । आगामी दिनमा पनि म समाज सेवामा नै समर्पित हुने गरी काम गर्ने इच्छा छ ।
काम गरेर सबैको विश्वास जित्न सकियो भने योजना निर्माणको तहमा राज्यलाई सहयोग गर्ने, जति पनि राज्यका निकायहरु छन् । त्यसलाई सहयोग गर्न, गाउँ, ठाउँ, जिल्ला प्रदेशको समृद्धिमा सहयोग पु¥याउने मेरो लक्ष्य छ ।
पे्ररणाको स्रोत
सुरुमा म बाध्यताले यो क्षेत्रमा लागेको हुँ । यस क्षेत्रमा लागि सकेपछि इमान्दार भएर काम गर्नुपर्छ भन्ने धारणाको विकास हुँदै गयो । त्यो समयमा तत्कालीन मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलति पदललाल देवकोटासँग मेरो राम्रै सम्बन्ध थियो । उपकुलपति हुनुपूर्व उहाँ सामाजिक संघ संस्था स्वास्थ्य विकास परियोजनामा काम गर्नु हुन्थ्यो । उहाँले बोल्ने भाषा, व्यवहार प्रति म एकदमै प्रभावित भएर पनि यो क्षेत्र रुचाएको हुँ ।
यो क्षेत्रमा काम गर्दै गर्दा अप्ठ्यारा, सजिला पक्षहरु के–के पाउनुु भएको छ ?
धेर भन्दा धेरै सवालहरुमा जानुपर्छ, धेरै सूचनाहरु संकलन गर्नुपर्छ, बेला बेलामा अपडेट हुनुपर्छ । सबैसँग चिनजान, पहिचान हुनुपर्छ । संघसंस्थाहरुमा थप परियोजना आउने र दिगो पना नहुने एउटा हाम्रो चुनौती हो । एउटा परिजनाभित्र रहेर अरुको अधिकारको कुरा गर्दैगर्दा आफ्नै अधिकार खोसिएको थाहा नै हुँदैन । प्रोजेक्ट सकियो भने कता जाने भन्ने समस्या पनि आउँछ ।
खिम रेग्मी, कार्यक्रम संयोजक, सुन्दर नेपाल संस्था सुर्खेत
प्रस्तुतिः वसन्त भण्डारी