होमपेज / समाज
कर्णाली प्रदेशभित्र रहेका पर्यटकीय स्थलहरुमा धेरै ऐतिहासिक मठमन्दिर तीर्थाटन पर्यटनका लागि गन्तब्य छन् । विगतमा मानिसहरुको तीर्थाटन पुण्य आर्जनमा मात्र सीमित थियो । उनीहरु जुन मठ मन्दिरमा पुग्थे, त्यहीँबाट फर्कन्थे । तर, अहिले समय बदलिएको छ । घुमफिरको संस्कृतिको विकास भएको छ । धार्मिक अर्थात् तीर्थाटन पर्यटनको महत्व बढ्दै आएको छ । तीर्थाटनसँगै नयाँ गाउँठाउँ र भूगोलको घुमघाम पर्यटकहरु रमाउने गर्दछन् । कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लाको खैरावाङ आजभोलि तीर्थाटन पर्यटनका लागि गन्तब्य भएको छ । शारदा नगरपालिका वाड नम्वर ११ मा पर्ने खैरावाङ भुवनेश्वरी देवीको मन्दिर ऐतिहासिक मानिन्छ ।
खैरावाङ सामुन्द्रिक सतहबाट १ हजार ६०० फिट उचाईमा पर्दछ । खैरावाङ मन्दिर परिसरबाट सल्यान जिल्लाको मात्र नभएर रुकुम जिल्लाको सिस्ने हिमाल र गुर्जा हिमालको केही दृष्यसमेत अवलोकन गर्न सकिन्छ । असोजदेखि मंसिर महिनासम्ममा खैरावाङ पुग्ने तीर्थाटन पर्यटकहरुले मौसम सफा छ भने सल्यानका फालावाङ, ल्वाम पोखरी, लेकपोखरा, दमाचौर, स्यानीखाल, शारदाको डाडाँगाउँ, बाझकाडाँ, कुमाकलेक, कजेरीमाथिको खामेलेक, कुपिण्डेको जैयतपानी, सल्यान जिल्लाको सदरमुकाम खलंगा बजार, मार्के, सिमखर्क, छायाँक्षेत्रको रमणीय ज्युला अर्थात् फाट र दक्षिणतर्फ निगालचुलीको लेकसमेत दृष्यावलोकन गर्न सकिन्छ ।
दर्जनौ गाउँ र प्राकृतिक सम्पदाको बारेमा अध्यन अनुसन्धान गर्नका लागि पनि खैरावाङ पर्यटकहरु पुग्ने गर्दछन् । ऐतिहासिक र धार्मिक महत्वले पहिचान बोकेको खैरावाङ भगवतीमात्र होइन छत्रेश्वरी भगवती, कोटमौलाको कालीका, मोखला पिपलनेटामा रहेको शिव गुफा र लक्ष्मीपुरमा रहेको कमलक्षी मन्दिर सल्यान जिल्लाका धार्मिक धरोहर हुन् । खैरावाङको नाम खाम मगर भाषामा रहेको छ । कुनै काल खण्डमा सल्यान जिल्लाको दक्षिण तिरको भूगोलमा खाम मगर जातीको बसोबास थियो ।
त्यसैबेलादेखि खैरावाङ मात्र होइन फालावाङ, धनवाङ, सिमवाङ जस्ता ठाउँका नाम रहेका छन् । खैरावाङको अर्थ खाम भाषाबाट नेपालीमा अनुवाद गर्दा खै–खोई रा–बाख्रा र वाङ– चौर हुन जान्छ । अर्थात् खाम मगरजातीको बसोबास भएको समयमा खैरावाङ बाख्रा चराउने चौर रहेछ । पछि बोलीचालीको क्रममा ठाउँको नामनै खैरावाङ भएको मानिन्छ । वाङ शब्द खाम भाषाबाट आएको शब्द हो । वाङ शब्द रोल्पा र सल्यानका धेरै गाउँ ठाउँको नाम खाम भाषासँग जोडिएको छ ।
खैरावाङको ऐतिहासिक महत्व पनि भिन्न छ । खैरावाङमा सतिदेवीको स्तन र मृगौला पतन भएको भुवनेश्वरी देवीको मन्दिर हो । जुनकुराको प्रमाण स्कन्द पुराण र ब्रामण्ड पुराणमा उल्लेख छ । खैरावाङ भगवतीको उत्पत्तिको बारे रोचक प्रसंग पनि छ । अघि कुनै समयमा एकजना महिला घाँस, दाउरा खोज्ने क्रममा खैरावाङको जंगलमा पुगिन् । घाँस काटने क्रममा एउटा बाँझको रुखमा चढिन् । बाँझको डाला काट्दै थिइन्, नौमती बाजाको आवाज सुनियो । एकान्त जंगलमा नौमती बाजाको आवाजले उनलाई आश्चर्य गरायो । रुखबाटनै यताउता बाजा बजेको स्थान खोज्न थालिन् ।
एकछिनपछि उनलाई थाहा भयो, बाजा बजेको स्थान त आफै चढेको बाँझको फेंदमा रहेछ । रुखबाट आर्लिएर फेंदमा हेर्दा उनले देखिन् रुखको फेदमा गहिरो प्वाल रहेछ । प्वालबाट खड्क निशानाको खुँडा तलमाथि गरिरहेको र त्यहीबेला नौमती बाजा पनि बजेको । महिला आत्तिदै घरमा पुगिन् । गाउँमा हल्लीखल्ली भयो । सबै घटनाको बारेमा गाउँको पण्डितलाई सुनाएपछि पण्डितको साथ सबै गाउँलेहरु जंगलमा नौमती बाजा बजेको बाँझको रुखतिर लागें । जुन दृष्य र नौमती बाजाको आवाजले सबै गाउँले छक्क परे ।
त्यसै रातमा पण्डितलाई सपना भएछ । म साक्षत भगवती हुँ । अब तीनदिन पछि बडादशैंको घटस्थापना शुरु हुन्छ । घटस्थापनाको दिनबाट मेरो पूजा शुरु गर्नु भनी पूजाको सम्पूर्ण विधिसमेत सपनामा भयो । सपनाबाट शक्तिपिठको बारेमा जानकारी भएपछि विस १५५८ देखि खैरावाङ भगवतीको पूजा शुरु भएको इतिहास छ । शुरुमा बाँझको फेंदमा र रुख ढलेपछि खरको छाप्रो बनाएर देवीको पूजा गर्न थालियो । केही समयपछि मेदिनीप्रसाद अधिकारीले वि.सं. १८०० को भाद्र महिनामा ढुङ्गाको छाना भएको मन्दिर निर्माण गरिदिएका थिए ।
यसरी सुरुवात भएको खैरावाङ भगवतीको पूजा, आजालाई सल्यानी राजाहरुले पनि शक्तिपिठ र इष्टदेवीको रुपमा मान्दै आएका थिए । खैरावाङ देवीको महत्व बढ्दै गएपछि त्यसबेला सल्यानी राजाहरु मात्र होइन जाजरकोट, रुकुम, रोल्पा र प्युठानका राजाहरुले पनि खैरावाङ भगवतीको पूजागर्ने, पञ्चवली चढाउने प्रचलनको शुरुवात गर्न थाले । त्यस समयमा यी सबै राज्यका राजाहरुले भारत बलरामपुर स्थित पाटेश्वरी देवीलाई कुलदेवताको रुपमा पूजा गर्दथिए । समय बित्दै जाँदा बलरामपुरका राजा र यहाँका राजाहरुमा मनमुटाव बढ्न गयो ।
बलरामपुरका राजाले यहाँका राजाहरुलाई पूजा–आजा गर्नमा रोक लगाए । त्यसपछि यहाँका राजाहरुले वि.सं. १८४८ मा पाटेश्वरी भगवतीको नाममा राखेको चारसय रोपनी गुठीको लालपूर्जा फिर्ता ल्याई खैरावाङ भगवतीलाई चढाएको इतिहास छ । शक्तिपिठकै कारणले गर्दा नेपाल एकीकरण भइसकेपछि पनि विभिन्न कालखण्डमा राजाहरु खैरावाङ आएको प्रमाणहरु छन् । वि.सं. १८५५ महाराजा गीर्वाण विक्रम शाहले खैरावाङको पूजा चलाउनु भनी लालमोहर गरिदिए र उनको ब्रतबन्धसमेत खैरावाङ भगवतीको मन्दिरमा गरिएको इतिहास छ । त्यसैगरी वि.सं १९३६ मा राजा सुरेन्द्र विक्रमबाट खैरावाङ भगवतीको लालमोहर नवीकरण भएको छ ।
शाहवंशीय राजाहरुको पालामा पृथ्वी वीरविक्रम र राणा प्रधानमन्त्री जंगबहादुर राणा पनि खैरावाङ आएको प्रमाण भेटिन्छ । पछिल्ला राजाहरु महेन्द्र, वीरेन्द्रले पनि खैरावाङलाई आफ्नो वंशको कुलदेवताको रुपमा पूजा गर्ने गरेका थिए । खैरावाङ शाहहरुको मात्र होइन अन्य जातिहरुको पनि आस्थाको केन्द्रविन्दु हो । खैरावाङ भगवती अर्थात् भुवनेश्वरी भगवतीको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुराहुने, आपत, बिपतको बेलामा भाकल गर्दा भगवतीले सबै माग पूरा गरिदिने विश्वास खैरावाङ पुग्ने तीर्थाटनका पर्यटकहरु बताउँछन् ।
खैरावाङमा नित्य पूजा बाहेक विशेष पर्वहरुमा सल्यान बाहेक छिमेकी जिल्लाहरु दाङ, रुकुम, रोल्पा र अन्य स्थानबाट पनि पूजा र भाकल चढाउन तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् । विजया दशमीको समयमा खैरावाङमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा धार्मिक चहलपहल मात्र होइन विभिन्न जनजातिको सांस्कृतिक नाचगानले खैरावाङको वातावरण रमाइलो हुन्छ । धार्मिकशास्त्र अनुसार नेपालमा ५१ स्थानमा शक्तिपिठ रहेका छन् । उपत्यका बाहेक एउटै जिल्लामा सतीदेवीको अंग तीन भिन्न स्थानमा पतन भएको जिल्ला सल्यान हो । सल्यान जिल्लाको उत्तर पश्चिम भूूगोलमा रहेको लक्ष्मीपुरमा सतीदेवीको अंग पतन भएको विश्वास गरिन्छ ।
शक्तिपिठको रुपमा कमलाक्षीको मन्दिर स्थापना भएको पहाड हेर्दा पनि करङकै आकार देखिन्छ । त्यसैगरी जिल्लाको मध्य भाग छाँयाक्षेत्रमा सतीदेवीको बाँकी भएको शेष अंग सबै पतन भएको धार्मिक मान्यता रहेको छ । छत्रेश्वरी शक्तिपिठमा अन्य मन्दिरमा झै बलि नचढाउने प्रचलन छ । बाहिर जिल्लाबाट सल्यान पुग्ने तीर्थाटन पर्यटकहरु सबै शक्तिपिठको दर्शन गर्न चाहन्छन् । एउटै जिल्लामा तीन स्थानमा सतीदेवीको अंग पतन भएका कारणले पनि तीर्थाटन पर्यटकहरुलाई कौतुहलको विषय बन्छ । जसले गर्दा धेरै तीर्थाटन पर्यटकहरु अध्ययन, अनुसन्धान गर्नमा रुचि राख्दछन् ।
छत्रेश्वरी मन्दिर जान ल्वाम–श्रीनगर सडक खण्डको शारदानदीको पुल अर्थात् शखंमुलबाट करिब ५ किमी ग्राभेल सडकको यात्रा गर्नुपर्दछ । खैरावाङ पुग्नका लागि आजभोली धेरै ठाउँबाट मोटर मार्ग पुगेको छ । त्यहाँ तीर्थाटनका लागि पुग्ने पर्यटकहरुले आफूलाई अनकुल हुने मार्गको छनौट गर्न सके यात्रा छिटो र सजिलो हुन्छ । दाङ तुलसीपुरबाट खैरावाङ जान लाग्नुभएको छ भने सल्यानको शारदा नगरपालिकाको श्रीनगर बजारबाट करिव ८ किमी घुमाउरो रमणीय यात्रामा खैरावाङ पुग्नु हुन्छ ।
त्यसैगरी सुर्खेतको भूगोलबाट खैरावाङ जान लाग्नु भएको छ भने छिन्चु–चौरजहारी मार्गमा पर्ने वालुवा सग्रही बजारबाट ९ किमीको यात्रा गरी कुपिण्डे दहको समेत अवलोकन गरी दुल्धारा हुँदै पनि खैरावाङ पुग्न सक्नुहुन्छ । सल्यानको दक्षिण भेग अर्थात तुलसीपुर सुर्खेत मार्गमा पर्ने कालिमाटीबाट खैरावाङ जान लाग्नु भएको छ भने कालिमाटी–मार्केनाउला ३० किमीको कच्ची सडक यात्रा गरी हिवाल्चा हँुदै पनि खैरावाङ पुग्न सक्नुहुन्छ । तीर्थाटन पर्यटकहरुका लागि यो मार्ग पनि रमणीय छ । बाटोमा पर्ने कालिमाटी, ढोडेनी, सुकिदह, जुकेना, सालचौर, बागचौर, गाउँ वरपरका प्राकृतिक दृष्यसमेत यात्राको क्रममा देख्न सकिन्छ ।
श्रीनगरबाट सल्यानको सदरमुकाम खलंगा भएर पनि खैरावाङ पुग्न सकिन्छ । यो मार्गबाट खैरावाङ जादा श्रीनगर–खलंगा ९ र खलंगा–खैरावाङ २० किलोमिटरको यात्रा गर्नु पर्दछ । खंलगाको साहुटोला, दुल्धारा, नाउला, हिवल्चा हँुदै खैरावाङ पुग्दा सडकबाट देखिने सल्यानका अनगिन्ती ग्रामीण बस्ती र प्राकृतिक सम्पदाको यात्रामा अवलोकन गर्न सकिन्छ । तीर्थाटन पर्यटन व्यवसाय सञ्चालन गर्न आधारभूत विकासको संरचना हुनुपर्दछ । सल्यानमा त्यस कुराको कमी देखिएको छ । खैरावाङलाई तीर्थाटन पर्यटकीयस्थलको रुपमा विकास गर्न सडक कालोपत्रे हुन जरुरी छ । खैरावाङ पुगेपछि त्यस ठाउँबाट अवलोकन गर्ने स्थान धेरै छन् ।
कतिपय तीर्थाटनका पर्यटकहरु त्यही नै बास बस्न रुचाउँछन् । बासका लागि होटल, लजको व्यवस्था हुनु पर्दछ । खैरावाङमा अब होमस्टेसमेत सञ्चालन गर्न पर्दछ । अर्कोकुरा हो सुरक्षा, खैरावाङ पुग्ने तीर्थाटन पर्यटन अथवा जो कोहीलाई पनि सुरक्षाको अनुभूत हुनुपर्दछ । अनिमात्र हुन्छ, खैरावाङको तीर्थाटन पर्यटकीय विकास । यसका लागि अब शारदा नगरपालिकाले ध्यान दिन जरुरी छ ।
खैरावाङ मात्र होइन सल्यान जिल्लामा पर्यटनको सम्भाव्यता भएका स्थलहरु धेरै छन् । तिनीहरुको प्रचारप्रसार हुन जरुरी छ । चाहे खैरावाङ होस् अथवा कुपिण्डे दह सबैठाउँमा पुग्न भरपर्दो सडक यातायात हुन पर्दछ ।
सडक विकासलाई जिल्लाले ध्यान दिन सके सल्यान जिल्लामा पर्यटनको व्यवसाय फष्टाउन सक्दछ । सल्यान जिल्लामा प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वका स्थलको पहिचान बोकेका धेरै स्थल छन् । कतिपय यस्ता ऐतिहासिक धरोहरको अध्ययन हुन सकेको छैन । पर्यटन विकास गर्नु पर्दछ भन्ने धारणा बढेको छ । तर यसलाई समग्र विकासका लागि जिल्ला र क्षेत्रको गुरु योजना भने बन्न सकेको छैन । कागजी रुपमा गुरुयोजना बनाए पनि बजेटको अभावमा पर्यटनहरुका लागि आवश्यक पर्ने विकास निर्माण हुन सकेको छैन ।
जुनसुकै पर्यटकहरु दुर दराजका गाउँ र बस्ती अनि प्राकृतिक सम्पदामा पुग्नको लागि सडक, खानेपानी, स्वास्थ्य, बास बस्ने होटल अथवा होमस्टेको व्यवस्था र सुरक्षाको ग्यारेन्टी हुनुपर्दछ । ग्रामीण बस्तीमा पुग्ने कुनै पनि पर्यटकले त्यहाँबाट उत्पादन भएको बस्तु पाउन सक्नुपर्दछ । जसले गर्दा नयाँ पर्यटकहरुमा त्यहाँ जाने रुची बढ्न सक्दछ । कर्णाली प्रदेशको सल्यान हिमालसँग जोडिएको त छैन तर पनि विभिन्न उच्च पहाडबाट हिमाल अवलोकन गर्न सकिन्छ । पहाड, गुफा, कन्दरा, वन, जङ्गल, नालीबेली परेका नदीनाला, हरियालीयुक्त रमणीय डाँडापाखा, सौन्दर्यपूर्ण इन्द्रेणी, छरिएका कलात्मक बस्ती र शारदा र भेरी नदी किनारका सुन्दर फाँटका बीचमा रहेका गाउँ र बस्तीले सुन्दरता दिएको छ ।
अझ त्यसमाथि परम्परागत शैलीमा निर्मित घर–आँगन, रहन–सहन, खानपिन, समय–समयमा देखाइने र मनाइने जात्रा, मेला, चाडपर्व र नाचगानले सल्यान जिल्लाको घुमघामको छुट्टै आनन्द र नया अनुभूती पर्यटकहरुले लिन पाउछन् । सल्यानमा अहिले शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका गरी तिन ननगरपालिका र कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका समेत सात गाउँपालिका भएको छ । सबै पालिकाहरुमा मोटर मार्ग पुगेको छ । सल्यान जिल्लामा घुमघाम गर्दा खान बस्नको केहि समस्या पर्दैन ।
हामी नेपाली घुमघाम गर्न अर्थात् प्रकृति र भूगोलको अध्ययन गर्न विभिन्न विदेशीको भूमिमा पुग्ने गर्दछौं । ताल हेर्न धार्मिक मठ–मन्दिरको दर्शन गर्न भारतको विभिन्न भूगोलमा पुग्दछांै । पहाडको सौन्दर्य हेर्न दार्जलिङ पुग्छांै । यस्तै अन्य क्षेत्रको अध्ययन गर्न पनि विभिन्न मुलुकमा पुग्दछांै । तर आफ्नै देश भित्रमा रहेका प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको बारेमा अनभिज्ञ हुन्छौ । नजिकको तीर्थ हेला भने जस्तै अरुको भूमिलाई मात्र राम्रो मान्दछांै । पर्यटन विकासको लागि हामी नेपालीहरुले सर्वप्रथम यो भावनालाई त्याग्न सक्नुपर्दछ । अनि मात्र पर्यटन विकास हुन्छ । विद्यार्थी, समाजसेवी, योजनाकार, इतिहासकार सबैले फुर्सदको समय मिलाएर एक पटक खैरावाङ पुग्ने योजना बनाउन सके राम्रो हुन्छ ।
के.वि.मसाल