होमपेज / समाज
कहिलेबाट अटो चलाउन सुरु गर्नुभयो ?
मैले अटो चलाउन सुरु गरेको डेढ वर्षभन्दा बढी भयो । त्योभन्दा पहिले सशक्त प्रहरी बलमा कार्यरत थिए । त्यसपछि त्यहाँबाट रिटाएर भएपछि मैले अटो चलाउन सुरु गरेको हुँ । अहिले दैनिक जसो चलाइरहेको छु ।
दिनमा कति घण्टा अटो चलाउनु हुन्छ ?
म बिहान ६ बजेतिर घरबाट निस्किन्छु । दिन भर जसो चलाउँछु । बेलुका म ५, ६ बजेतिर घर पुग्छु । उपत्यका भित्र जता जाने यात्रुहरु भेटिन्छन त्यतै तिर जान्छु ।
दैनिक कति आम्दानी हुन्छ ?
धेरै अटो भएकाले कमाई घट्दो क्रममा छ । अहिले पनि दिन दिनै अटो बढिरहेका छन् । झनै नगरपालिकाले अटो वितरण गरेको छ । दैनिक ८, ९ सयको पेट्रोल नै लाग्छ । त्यसबाट ८ सयदेखि १ हजारसम्म बचत हुन्छ ।
अटोबाट भएको आम्दानीको पैसा केमा खर्च गर्नुभएको छ ?
कमाईको सबै रकम घर खर्च मै ठिक्क हुन्छ । आधा रकम त पेट्रोल मै सकिन्छ ।
यात्रुको व्यवहार कस्तो लाग्छ ?
कतिपय यात्रुहरु हाम्रो पेशालाई बुझेका हुन्छन् । सोही अनुसार लाग्ने भाडा दिन्छन् । कोही भने भाडाको विषयमा धेरै कराउँछन् । धेरै जसो यात्रुहरु भाडाकै विषयमा कराउँछन् । नगरपालिकाले तोकेको भाडासमेत उनीहरुबाट पाउन मुस्किल पर्छ ।
ट्राफिक नियम उल्लंघन गरेबापत जरिवाना तिर्नुभएको छ, की छैन ?
सुरु सुरुमा म एक पटक जरिवानामा परेको थिएँ । जुन समय मैले भर्खरै अटो किनेको थिएँ । अटोमा निजी नम्बर प्लेट थियो । मसँगै लाइसेन्स पनि थिएन । ट्राफिक कारबाहीमा मैले ५ सय जरिवाना तिरेको थिएँ । त्यसपछि जरिवानामा परेको छैन । ट्राफिक नियमको पालना गर्न लगाउनु त्यो उनीहरुको काम हो । हामीले पनि आफ्नो जिम्मेवारी पूरा गरेर त्यसमा साथ दिन आवश्यक देख्छु ।
वीरेन्द्रनगरका सडकको अवस्थाबारेमा के भन्नुहुन्छ ?
जुन सुकै ठाउँमा पनि पिच भन्दा कच्चीबाटो धेरै छ । अटो खासमा पिचमा चलाउने हो । गल्ली गल्लीमा चलाउन एकदमै गाह्रो हुन्छ । सडक मर्मत भएको भए यात्रुहरुले भनेको भाडामा पनि हिँड्न सकिन्थ्यो । तर अहिले त कच्ची बाटोका कारण दिन दिनै अटो बिग्रिन्छ । महिनामा धेरै पटक सर्बिसिङ गर्नुपर्छ । पेट्रोल पनि धेरै लाग्छ ।
भावि योजना के छ ?
अहिलेसम्म त भावि योजनाको बारेमा केही पनि सोचेको छैन । जहिलेसम्म वीरेन्द्रनगरमा अटो चलाउन पाइन्छ । त्यतिन्जेलसम्म चलाउने हो । यदि नपाइएमा अर्को विकल्प रोजिन्छ ।
कर कति तिर्नुहुन्छ ?
यातायात व्यवस्था कार्यालयमा बिल बुक नवीकरण गरे बापत ७ हजार, जाँस पासको लागि २ महिनामा २ सय र नगरपालिकामा अटो दर्ता एक हजार, रुटप्रमिडको ४ महिनाको ४ सय तिर्नुपर्छ ।
डम्मरसिंह सुनार, वीरेन्द्रनगर नगरपालिका १, ढोडेखाली
अटो नम्बरः भे १ ह ३७७९
दोभानचौर यातायात प्रा.लि.