होमपेज / समाज
जुम्ला उद्योग वाणिज्य संघ जुम्लाको पहलमा सुविधा सम्पन्न (स्मार्ट) सार्वजनिक शौचालय निर्माण भएको छ । उद्योग वाणिज्य संघको गेट नजिकै कर्णाली प्रदेशकै नमूना र सुविधायुक्त शौचालयको निर्माण गरिएको हो । महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिक र अपाङ्ग मैत्री शौचालयको निर्माण गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रजबअलि मनिहारले बताए । अपाङ्ग व्यक्तिका लागि एक, महिलाका लागि दुई र पुरुषका लागि चार वटा युरिनल तथा दुई वटा शौचालय निर्माण गरिएको उनले जानकारी दिए ।
शहरी विकास तथा भवन निर्माण सवडिभिजन कार्यालय जुम्लाबाट प्राप्त भएको ४४ लाख ६३ हजार २ सय ५० रुपैयाँ मध्ये शौचालय निर्माणमा ४० लाख ६२ हजार ४ सय ४४ रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बरी खड्काले बताईन् । शौचालय निर्माण गरी ४० हजार ८ सय ६ रुपैयाँ बचेको जानकारी उनले दिइन् । निर्माण भएको शौचालय मंगलबारबाटै खुल्ला गरिएको छ । पानी, साबुन र अन्य सबै सामान पुर्णत सुविधा गरिएको छ ।
बजारमा सार्वजनिक शौचालयको अभावलाई मध्यनजर गरी नागरिकको सहजताका लागि जुम्लामा नमूना र सुविधायुक्त शौचालय निर्माण गरिएको उनको भनाई छ । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले मेला पर्वमा शौचालयका लागि भौतारिने नागरिकका लागि सहज हुने बताइन् । उद्योग वाणिज्य संघ जुम्लाको पहलमा निर्माण भएको शौचालयको सरसफाईका लागि नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।