होमपेज / समाज
नेपालगञ्ज । गुलरिया सडकखण्डको ईन्द्रपुरस्थित चप्पल उद्योगमा लागेको आगलागीमा परेर एकजना जलेका छन् । अर्का एकजना घाइते भएका छन् । बाँकेको जानकी–३, इन्द्रपुरमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गए राति १२ बजेदेखि बिहान आठ बजेसम्म आगो लाग्दा एकजना जलेका हुन् । जलेका व्यक्तिको सनाखत हुन सकेको छैन । राति एक बजेतिर ठूलो आवाजमा आएको स्थानीय बताउँछन् । आगलागीसँगै त्यो आवाज आएको थियो । अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको चप्पल उद्योगमा कसरी आगो लाग्यो खुल्न सकेको छैन ।
उद्योगमा एक्कासी आगो लाग्दा राति एक बजेदेखि डिउटीमा बस्न त्यही सुतेका दिलिपकुमार चमार घाइते भएका छन् । घाइते चमारको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । उनको हात र खुट्टामा पोलेको थियो । बाँके र बर्दियाका ६ वटा दमकल ल्याएर आगो नियन्त्रणमा ल्याइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिहान आर्मीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज नजिकै पर्ने भएकाले डीएसपी शिवबहादुर सिंहको टोली राती सवा एक बजे नै घटनास्थलमा पुगेको थियो । विष्फोटको आवाज आउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी जाँदा आगो लागिसकेको थियो ।
बिहान आठ बजे आगो नियन्त्रणमा आएपछि प्रहरीले घटनास्थलमा नियाल्ने क्रममा जलेको अवस्थामा शव फेला परेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सिंहले बताए । ‘मान्छे चिनिने अवस्थामा छैन । सोधपुछ गरेर सनाखत गर्ने प्रयास भइरहेको छ, प्रवक्ता सिंहले भने, राति को–को त्यहाँ सुतेका थिएँ बुझिरहेका छौं ।’ घाइते चमारले एक बजे डिउटी बस्न अलार्म बजाएर सुतेको र उठ्दाखेरी आगो लागिसकेको बताए । आगोसँगै ठूलो आवाज आएपछि चमार भागेका थिए ।
उद्योगमा चप्पल, पोछा र ट्वाइलेट ब्रस बन्दथ्यो । ठूलो उद्योग भएकाले दिनमात्रै होइन, रातीमा समेत काम हुन्थ्यो । तर, होलीको दिन परेकाले मंगलबार राती कामदार थिएनन् । कामदार भइदिएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । जिप्रका नजिक र मुख्य सडकमा भएकाले समयमै प्रहरी पुगेको थियो ।