होमपेज / समाज
हस्त वुढा, जुम्ला । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थी पुस्तक बिना नै पढ्न बाध्य छन् । जुम्लालगायत हिमाली जिल्लामा पर्ने मुगु, कालकोट, डोल्पा र हुम्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँका सामुदायिक विद्यालयका विद्यार्थीले फागुन तेस्रो सातासम्म पुस्तक नपाएपछि पुस्तक बीना नै स्कुल आउने गरेका छन् । सिञ्जा गाउँपालिकास्थित कैलाश माध्यमिक विद्यालय फुङग्रका प्रध्यानाध्यापक विष्णुलाल रोकायाले कक्षा १ को पाठ्यपुस्तक छापिएर नआएका कारण विद्यार्थीलाई वितरण गर्न नसकिएको बताए । उनले भने, ‘अरु सवै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भइसकेको छ ।’
कक्षा १ को पुस्तक किन नआएको भन्ने जिज्ञासामा प्रधानाध्यापक रोकायाले शुरुमा पहिला पुस्तक छापिए पछि पाठ्यक्रम परिर्वतन भई आएपछि फेरि पुस्तक छाप्नु पर्ने हुँदा जिल्लामा पाठ्यपुस्तक पुग्न ढिलो भएको बताए । ‘कक्षा ४ को सामाजिक र नेपाली विषयका पाठ्यपुस्तक पनि अपुग भएकाले स्टेशनरीबाट ल्याएने व्यवस्थापन गरेका छौं ।’ उनले भने, ‘अबको १÷२ दिनमै विद्यालयमा पुस्तक पुग्ने छ ।’ यस विद्यालयमा तीन सय ३० जना जति विद्यार्थी छन् ।
श्री माध्यामिक विद्यालय जोडुका प्रधानाध्यापक नरबहादुर बुढाका अनुसार उक्त विद्यालयमा कक्षा ४ को नेपाली पुस्तक १५ जना विद्यार्थीलाई अपुग छ । ‘विद्यार्थीको संख्यामा तलमाथि भएकाले केही पुस्तक अपुग भएको हो ।’ उनले भने, ‘अपुग पाठ्यपुस्तक छिट्टै विद्यालयमा ल्याउने व्यवस्थापन गरेका छौँ ।’ सिंजा गाउँपालिकाका १२ विद्यालायमा सामुदायिक विद्यालयमा पाठ्पुस्तक वितरणको जिम्मेवारी लिएका पुस्तक विक्रेता मोहनविक्रम शाहीले कक्षा १ को पुस्तक नै नछापिएकाले वितरण नभएको बताए ।
कक्षा ६, ७ र ८ को पुस्तक पनि रंगिन हुनु पर्ने हो तर नभएको उल्लेख गरेका उनले २÷४ पुस्तक मात्रै रंगिन छन् अरु सबै पुरानो पठाएको जानकारी दिए । तर जुम्ला जिल्लाभर पुस्तक बिक्री गर्दै आएका जीपी स्टेशनरीका प्रोप्राइटर गणेश रोकायाले कक्षा १ बाहेकका सबै कक्षाका पाठ्यपुस्तक जिल्लामा पुगेकाले अपुग भएका विद्यालयलाई लिन आउन आग्रह गरे । जुम्लामा १ सय ७० सामुदायिक विद्यालय मध्ये कक्षा १–५ सम्म अध्ययन हुने आधारभूत विद्यालय ९२, कक्षा १–८ सम्म अध्धयन हुने आधारभूत विद्यालय ३१, कक्षा १–१० माध्यमिक विद्यालय ३१ र कक्षा १–१२ सम्म अध्ययन हुने माध्यमिक विद्यालय १६ वटा रहेको शिक्षा, विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।