होमपेज / समाज
सल्यान । जिल्लाका चार स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजना शुरु भएको छ । डेभलपमेन्ट सोसाईटी नेपाल, सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा सञ्चालन भएको हो । वैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन परियोजना शुरु भएको हो । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यही देशको काम अनुसारको सिपमूलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमूलक बनाउने परियोजनाको उद्देश्य रहेको जिल्ला कार्यक्रम संयोजक बिमल गौतमले जानकारी दिए ।
परियोजनाका कर्मचारीहरुलाई जिल्ला तहमा २ दिने क्षमता विकास तालिमको बुधबार उद्घाटन गर्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन परियोजनाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो प्राथमिकता स्वरोजगार हो’ उनले भने, ‘विदेश गए पनि सुरक्षित भएर जानु उपयुक्त हुन्छ ।’ सानो सूचनाको अभावले वैदेशिक रोजगारमा जाने श्रमिकले ठूलो दुःख पाएको हुँदा परियोजना उपलब्धीमूलक हुने उनको भनाई छ ।
परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गर्ने डेभलपमेन्ट सोसाईटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले जानकारी दिए । लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउन परियोजनाले मद्दत मिल्ने उनको भनाई छ ।
परियोजना सञ्चालनका लागि चार स्थानीय तहमा यस वर्ष करिब ७० लाख रुपैँया छुट्याइएको छ । परियोजना कार्यान्वयनका लागि १२ जना कर्मचारी छनौट गरिएको छ भने अन्य १२ जना स्वयम्सेवकको व्यवस्था गरिएको छ ।