होमपेज / समाज
मुगु । जिल्ला ट्राफिक कार्यालय मुगुले चालु आर्थिक वर्षको ७ महिनामा ४६ हजार राजस्व संकलन गरेको छ । जिल्लामा सञ्चालित सवारी साधन र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरे बापत कारबाही स्वरुप उक्त रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभावी ओभरट्याक गर्ने, सवारी साधनका बिल बुक अन्य कागजातहरु साथमा नराख्ने, मदिरा सेवन गरी सवारी चलाउनेलगायतका ट्राफिक नियम विपरितका काम गरेको आधारमा ६१ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरीक्षक (सही) ज्ञानेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा २० ट्याक्टर, १० मोटरसाईकल १०, जिप ट्रक १५ र १० बस चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मुगु जिल्लामा हरेक वर्ष १० प्रतिशतका दरले सवारी साधन थपिने क्रम बढिरहेको उल्लेख गरेका शर्माले बढ्दो सवारी साधनसँगै दुर्घटना पनि उत्तिकै बढेको जानकारी दिए । ‘चालु आर्थिक वर्षको माघ मसान्तसम्मका ७ महिनामा जिल्लाभर ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु र ६० जना घाइते भएका छन् ।’ उनले भने, ‘दुर्घटनामा ज्यान गुमाउने मध्ये महिला र बालबालिकाको संख्या मात्रै छ ।’
अहिलेसम्म भएका दुर्घटनामा ज्यान गुमाउनेमा ३ महिला र १ बालबालिका रहेको जानकारी दिएका शर्माले पछिल्लो समय नाग्म गमगढी सडक लगातार भारी हिमपातका कारण अवरुद्ध भएपछि सडक दुर्घटनाको संख्या बढेको देखिन्छ । केही दुर्घटना चालकको लापरबाहीले हुने गरे पनि अधिकांश दुर्घटना साँघुरो र कच्ची सडक नै प्रमुख कारक रहेको बताएको जिल्ला ट्रापिक प्रहरी कार्यालयले स्थानीय तहले मापदण्ड विपरीत विकासका नाममा अन्धाधुन्ध सडक निर्माण गरेकाले दुर्घटनाको जोखिम बढेको बताएको छ ।