होमपेज / समाज
कम्युनिष्ट पार्टीको मात्रै कुरा गर्ने हो भने अनुशासनहिन र फितलो पार्टीले क्रान्ति वा निर्माणका कुनै पनि कामको कुशल नेतृत्व गर्न सक्दैन । हिजोका दिनमा युद्धबाट आएको माओवादी र शान्तिपूर्ण संघर्षबाट फैलेको(एमाले)दुवै पार्टीमा अनुशासन व्यवहारमै कडा थियो । यदि अनुशासनको पक्ष केवल पार्टी विधान, नियमावली, निर्णय र अन्तरपार्टी निर्देशनमा मात्रै सीमित हुने स्थिति रहन्थ्यो त हामी आज देशमा यो भिमकाय कम्युनिष्ट पार्टी देख्न सक्थेनौं । हामीले हिजोलाई नियाल्दा विगतमा हामी खुबै अनुशासित रहेछौं ठान्नुपर्दछ ।
यसको अर्थ आज हामी पुरै रुपमा अनुशासनहिन भएको भनेर बुझ्न हुँदैन । हिजो पनि पार्टी अनुशासन उल्लंघन गर्नेहरु नदेखिएको हैन । हिजोको तुलनामा हामीले अनुशासन तौलिने तुलोमा राखेर हेर्ने हो भने आजका नेता, कार्यकर्तामा पार्टी अनुशासनको पक्षलाई जानाजान उल्लंघन गर्ने कार्य बढेको छ भन्ने मैले ठानेको छु । हिजो पार्टी राष्ट्रिय राजनीतिमा कमजोर अवस्थामा रहनुको कारणले पार्टी हरेक पक्षमा बढ्दा क्रान्तिकारी र बढ्दा अनुशासित भएको पनि देखिन सक्छ । मेरो विचारमा पार्टी हिजोभन्दा आज झनै क्रान्तिकारी र ज्यादै अनुशासित हुन आवश्यक छ ।
यो विषयमा हाम्रो पार्टी (नेकपा)को शीर्ष नेतृत्व तह सजग छ भन्नेमा प्रष्टै जान्न सकिन्छ । यद्यपी पार्टीले विधान निकै राम्रो, नियमावली र राजनीतिक प्रतिवेदन तथा अपानीको साथै आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न थाल्दा पनि पार्टी नेता र कार्यकर्ताको छाडा र स्वच्छतापनमा कमीको महसुस गर्न पाइएको छैन । केन्द्रदेखि स्थानीय तहसम्म नेता तथा कार्यकर्ताहरु आफूलाई व्यक्तिगत रुपमा चित्त नबुझेको विषय भए कोलाहल मच्चाउन पछि हट्दैनन् । अन्य नेता र कार्यकर्ताको तुलनामा आफुलाई पहुँचमा देख्ने र बढी दख्खलवाला ठान्नेहरु पार्टी अनुशासनलाई पैतालो मुनी राख्न खोजिरहेको छन् ।
पार्टीको विधि, पद्धति, सीमा र प्रक्रियालाई उल्लंघन गरि अनुशासन हिन कार्यगर्नेहरुलाई सजायको भागेदार बनाउन आवश्यक छ । कहिलेकाहीँ हाम्रो पार्टीका वरिष्ठ नेताहरुबाटै जुहारी त कहिलेकाहीँ दोस्रो र तेस्रो तहका नेताहरुबाट शब्दबाण हानाहान कस्को हितमा चलिरहेका छन् ? कर्णाली प्रदेशमा प्रेस संगठनले आयोजना गरेको कार्यक्रम र त्यहाँ उब्जेका प्रसंग के जायज थिए ? ती प्रसंगहरु के अझै सार्वजनिक रुपमा कोहोलो मच्चाउनका लागि उपयुक्त छन् ? हामी जिल्लास्तरका कार्यकर्ताहरु केन्द्रका नेताहरुको लाखेनाच देखेर तिनछक हुनुपर्ने अवस्था छ ।
पार्टीले सुर्खेतमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष कमरेड प्रचण्डले पार्टी एकताको सार्थकता र भविष्यमा केन्द्रित भएर अत्यन्तै सान्दर्भिक प्रशिक्षण दिनुभएको थियोे । त्यो प्रशिक्षणमा हामी जिल्ला तहका नेताहरु उपस्थित त भयौं र गराइयो । मैले मेरा विचारमा प्रशिक्षण सर्वप्रथम आफूलाइ उच्चस्तरको र अब्बलको ठान्ने केन्द्र नेतृत्वको वरिपरिका कमरेडहरुलाई बढ्ता दिन जरुरी देखिएको छ । पार्टीले पोहोर साल केन्द्रदेखि जिल्ला स्तरमा फागुन १ लाई जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा भनेरै मूल व्यानरका साथ कार्यक्रम गरेको थियो ।
अहिले साल पनि पार्टी केन्द्रको व्यानर त्यही थियोे । कसैलाई केही र कसैलाई केही सर्कुलर अवश्य आएन होला । जे होस् स्थानीय तहसम्ममै कार्यक्रम भइरहँदा व्यानरमा लेखिएको शब्दहरुका विषय मात्रै हैन नेतृत्वको व्यवहारमा समस्या लागि रहेको छ । रुकुममै भएको तत्कालीन एमाले नेता कमरेड यदु गौतमको शालिकमा गएर पुष्पमाला पहिराउन के तत्कालीन माओवादी पंक्तिले जादा के फरक पथ्र्याे ? त्यति भइसके पश्चात प्रेस संगठको कार्यक्रममा देखिएको व्यानरमा कमरेड सूर्य थापाले अपाच्य तरिकाले खण्डन नगरे पुग्दैन थियोे ? हामीलाई राम्रोसँग थाह छ कि जनआन्दोलन, जनयुद्ध, एमाले र माओवादी एकअर्कोमा परिपुरक हुनुकै कारणले पार्टी एकता भएको छ ।
यस विषयमा बढ्ता चियोचर्चा कसैले कसैको नगरेकै राम्रो हुन्छ । यदि गर्ने नै हो भने सूर्य कमरेडले जनयुद्ध र जनार्दन कमरेडहरुले एमाले र जनआन्दोलनको सकरात्मक पक्षको चर्चा गर्नु बेस होला । पछिल्लो दिनमा आएर केन्द्रीयस्तरकै नेताहरु यदि जनयुद्ध नहुदो हो त सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्ने राष्ट्रिय गान गाएर बसेका हुन्थे सम्मका शब्द खेलाएर मजा लिइ रहेका छन् । अहिलेको समय विगतमा फर्केर पार्टी एकतालाई कमजोर पार्ने शब्द खेलाउदै मजा लिने समय हैन । कसैले जनआन्दोलन र एमाले नभएको भए हिमाल शर्मा कमरेडहरु कुनै पाटनमा जुम्रा, लिखा टिपिरहेका हुन्थे भनेर जवाफ फर्काइरहन जरुरत छैन ।
पूर्व एमालेहरुको पक्षपोषण गर्दै विगत युद्धको पाटोलाई सम्झिदै हिमाल कमरेडहरु रेडियो नेपालको समाचार भैसकेको स्थिति हुन सक्थ्यो भनेर पनि कसैले त्यस्ता गलत विषयमा दिमागलाई दुःख दिइरहन जरुरी छैन । कमरेड सूर्य, जनार्दन र हिमाललगायत सबैको योगदान र कुर्वानी तराजुमा तौल्न र सामाजिक सञ्जालमा ब्याख्या गरी सक्न असम्भव छ । हामी तल्लो तहका कार्यकर्ता यही चाहन्छौ कि पार्टी केन्द्रका नेतृत्व तह र वरिपरिका कमरेडहरु आजभन्दा थप अनुशासित भैदिनुस् र हामीले अनुशासन उल्लंघन गर्दा सजाय दिने विषयमा काखेपाखे नगरेर सिधै पार्टी अनुशासनको कठघरामा उभ्याइदिनुस् ।
पार्टी एकताको पक्षमा अझै केही समय सार्थक बहसको खाँचो छ ।त्यो बहसमा पार्टी शीर्ष नेतृत्व एकमना हुन र दोस्रो तथा तेस्रो तहका नेता तथा हामी सबैको जिम्मेवारी एकताको पक्षमा अनिवार्य र सार्थक बहसमा केन्द्रित हुनु उचित छ । हामीलाई कारबाही गरिरहँदा हामी हाम्रो मुखमा सियो घुसार्नु हुन्छ भने पनि सहन सक्छौं । यहाँहरु पनि पार्टी अनुशासनको पक्षमा फितलो नभइदिनुस् हाम्रो आग्रह यही हो । तत्कालीन एमाले र माओवादीकै पहल र नेतृत्वमा देशले शान्ति, संविधान र गणतन्त्र पाएको विषयमा हामीले गर्व गर्न सक्नुपर्छ । विगतका साझा पहल र सुखद् तथा मित्रवत सम्बन्धका सवालहरु पनि स्मरण गरेर पार्टी हितमा अघि बढौं ।
अभिव्यक्तिमा मात्रै हैन व्यक्तिगत तथा सार्वजनिक जीवनमा हामीले नेतृत्वको व्यबहारमा (नेकपा) देख्न खोजिरहेका हुन्छौं । यद्यपी नेतृत्व तहमा रहेका कतिपय कमरेडहरुका आर्थिक बार्गेनिङ, सांस्कृतिक विचलन र तत्कालीन पार्टी विचारको बचाउका पक्षमा देखिएका नाजायज बहसमा चिन्तित हुनुपर्ने भएको छ । पार्टी नेतृत्व र कार्यकर्ताको व्यक्तिगत जीवनमा पारदर्शिता र एकमना एकता आजको अपरिहार्यता हो । यो समयमा फेरि पार्टी शीर्ष तहको इशारामा राष्ट्रिय महाधिवेशन र सत्ता केन्द्रित गुट विकासको रणनीति शुरु हुन थालेको भन्ने संकेत देखिएको छ ।
पुष्पलाल मित्रता केन्द्र या मदन भण्डारी फाउन्डेसन वा अन्य कारणले पार्टीभित्र गुटबन्दीका रेखाहरु कोरिदैंछन् भन्नेमा हामीले चिन्ता गर्नुपर्ने बेला भएको छ । त्यसरी भइरहेका गतिविधिमा पार्टी अनुशासन र विधानको सीमाबाट हेरिन आवश्यक छ । पार्टीलाइ संस्थागत ढंगले सञ्चालन गर्दै आधारभूत तहमा पार्टी कार्यकर्ता उत्पादन गर्न र जनतासँग पार्टी पु¥याउन अब सबैले अभियान केन्द्रित हुनुपर्ने बेला भएको छ । नैतिक तथा सांस्कृतिक रुपान्तरण, वर्ग संघर्ष तथा क्रान्तिकारी कार्यशैली विकास, अन्तरविरोध व्यवस्थापन, विधि, पद्धति र प्रक्रियाको पालनामा विलम्ब गर्नु हुँदैन ।