ट्रेण्डिङ

होमपेज / समाज

फुल्टेक्रामा क्रिकेट मैदान बनाउन छलफल शुरु

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:४७:२७ मा प्रकाशित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको कार्यदलले फुल्टेक्रास्थित जग्गामा क्रिकेट मैदान बनाउनका लागि छलफल थालेको छ । कार्यदलका संयोजक एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालको अगुवाईमा शुक्रबार मुस्लिम अगुवा र केन्द्रीय कर्बला समिति सम्बद्धसँग छलफल गरिएको हो । नेपालगञ्ज–६, फूल्टेक्रामा रहेको खाली जमिनमा क्रिकेट मैदान बनाउदा उपयुक्त हुने चौतर्फी सुझाव आएपछि कार्यदलले सरोकारवाला तथा स्थानीय बासिन्दासँग छलफल थालेको हो ।

फूल्टेक्राको खाली जमिनको केही भाग लामो समयदेखि हिन्दु र मुस्लिम समुदायले प्रयोग गर्दै आएका छन् । फूल्टेक्रामा करिव दश विगाह जमिन रहेको छ । मुस्लिम अगुवा र केन्द्रीय कर्बला समिति सम्बद्धहरु क्रिकेट मैदान बनाउनका लागि सकारात्मक भएको कार्यदलका संयोजक हमालले जानकारी दिए । ‘क्रिकेट मैदान बनाउने कुरामा सबै सकारात्मक छन् । शुक्रबारको छलफल पनि क्रिकेट मैदान बनाउन पर्छ भन्नेमा अति नै राम्रो भयो, हमालले भने, यो हाम्रो पहिलो चरणको छलफल थियो । हामी सबैसँग निरन्तर छलफल गर्छौ ।’

प्रदेश सांसद मो. याकुव अन्सारी, मो. हारुन, अतहर हुसैन फारुकी, केन्द्रीय कर्बला समितिका अध्यक्ष फिरोज हलवाई, फिदा हुसैन, मो. मेराज हलवाई, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, हरफान सिद्धिकी, मेराज अन्सारी सहभागी भएको छलफलमा नेपालगञ्जमा क्रिकेट मैदान अति नै आवश्यक रहेको बताइएको छ । बाँके जिल्ला क्रिकेट संघका सदस्यसमेत रहेका मेराज अन्सारीले क्रिकेट मैदान बनाउनु पर्छ भन्नेमा सबैको मत रहेको बताए । 

कार्यदलका सदस्य एवं वडा नं. १३ का अध्यक्ष वीरेन्द्र शाहले क्रिकेट मैदान बनाउदा कुनै समुदायको विशेषको नहुने भएकाले प्रारम्भिक छलफल नै सकारात्मक भएको बताए । क्रिकेट मैदान बनाउनका लागि पाँच विगाह जमिन खोजिएको छ । फूल्टेक्रामा दश विगाह जमिन रहेको भनिएको छ । यद्यपि, केही अतिक्रमण हुन सक्छ । एघार दिनभित्र प्रतिवेदन बुझाउने गरी लागेको कार्यदलमा वडाध्यक्षहरु मो. अयुव सिद्धिकी, सफिक बेहना, समीरप्रताप सिंह, कैफुलबरा जोलाह र कार्यपालिका सदस्य इन्दिरा शाही रहेका छन् ।

कार्यदलले ६ नम्बरका जनप्रतिनिधि, स्थानीय बासिन्दासँग पनि छलफल गर्ने तयारी गरेको छ । नेपालगञ्जमा क्रिकेट मैदान नहुँदा खेलाडीले खेल्न पाएका छैनन् । मंगलप्रसाद मावि स्कुलको मैदानमा खेलेर खेलाडीले राष्ट्रिय जर्सी लगाइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले जग्गा खोेज्ने बित्तिकै प्रदेश सरकारले क्रिकेट मैदान बनाउन सहयोग गर्ने आश्वासन मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top