ट्रेण्डिङ

होमपेज / समाज

उद्योगकर्मी भारत, उद्योग बन्द

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:११:२४ मा प्रकाशित

दैलेख । आठबीस नगरपालिका–४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ । उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो । उद्योगमा रकम नजुटेपछि सञ्चालकहरु खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयबासीले बताएका छन् । जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो । तालिम लिएकाहरुलाई तालिम सकिएपश्चात् रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो । 

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ । उद्योग स्थापना भएको करिब दुई महिनामै उनीहरुले उद्योगमा काम गर्न छाडिसकेको स्थानीयबासी गोकर्ण माझीले बताए । युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ ।

वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । ‘हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरु खोजिरहेका छौँ’, उनले भने । नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको बताए । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ । ५३ हजार ८२४ रुपैयाँ जनश्रमदान र पाँच लाख रुपैयाँ अनुदान रकममा उद्योग स्थापना गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top