ट्रेण्डिङ

होमपेज / समाज

प्रदेशकै अग्लो शिव पार्वतीको मुर्ती स्थापना शुरु  

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:०२:४५ मा प्रकाशित

वसन्त भण्डारी, सर्खेत । वीरेन्द्रनगर–९ को लाटिकोइलीमा रहेको शिव मन्दिरमा ५१ फिट अग्लो शिव र पार्वतीको मुर्ती स्थापना गर्ने कार्य शुरु भएको छ । शिवरात्रीको अवसरमा परेर शुक्रबार लाटीकोइलीको शिव मन्दिरमा आयोजना गरिएको एक कार्यक्रममार्फत उक्त कार्य शुरु गरिएको हो । लाटिकोईली शिव मन्दिर व्यवस्थापन समितिले उक्त ५१ फिट अग्लो शिव र पार्वतीको ‘अर्ध नारेश्वर’ मुर्ती स्थापना गरिने छ । भक्तपुरका कालिगढहरुको टोलीले करिब ३ महिना लगाएर निर्माण गरिएको उक्त मुर्ती निर्माणको अधिकांश काम सकिएको छ । २६ लाखको  लगानीमा निर्माण भइरहेको उक्त मुर्ती निर्माणको ८० प्रतिशत काम सकिएको र बाँकी काम केही दिनमै सकिने मन्दिर व्यवस्थापन समितले जनाएको छ । 

एउटै ढुंगाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको उक्त ‘अर्धनागेश्वर’ मुर्तीले समाजमा सकारात्मक सन्देश फैलाउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिए । उनका अनुसार शुक्रबार शिव रात्रीको अवसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच मुर्ती स्थापनाको लागि मुर्ती अड्याउने संरचनाको सिलान्यास गरिएको छ । भारत विहारका बाबा कृष्णदास योगीबाट सिलान्यास गरिएको उक्त मुर्ती चैत महिनाभर निर्माण सम्पन्न गरेर वैशाख एक गते एक समारोहका बीच मुर्ती स्थापना गर्ने तयारी भइरहेको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए । साथै उनले मुर्ती निमार्णदेखि स्थापनाको लागि बनाइने संरचना तथा अन्य व्यवस्थापनका लागि करिव १ करोड बजेट लाग्ने अनुमान गरेको बताए । 

यस अघि विसं २०७४ मन्दिर व्यवस्थापन समिति गठन गरी साउनमा ११ दिन महापुराण महायज्ञ लगाइएको थियो । पुराणबाट दाताले दिएको नगद तथा जग्गा दान गरेर १ करोड २४ लाख रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानन्धरले बताए । महापुराणबाट उठेको रकम कार्यक्रममा भएको व्यवस्थापकीय खर्च घटाएर ८० लाख रुपैयाँ अक्षय कोषमा जम्मा भएको त्यसको व्याज रकमबाट नै मुर्ती स्थापनाको काम अघि बढाइएको उनको भनाई थियो । 

भौतिक संंरचनामर्मत तथा निर्माणका लागि प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्न बताइए पनि हालसम्म सहयोग नगरेको वडा अध्यक्ष मानन्धरले गुनासो गरे । मन्दिरको गेट, वरिपरिको पर्खाल निर्माण, पार्क निर्माणका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सहयोग गर्ने तथा मन्दिर क्षेत्र भित्र वीरेन्द्रनगर नगरपालिकाले आधुनिक शौचालय निर्माण गर्ने बताए पनि चालु आर्थिक वर्षमा त्यसका लागि बजेट नै नछुट्याएको बताए । मन्दिर व्यवस्थापन समितिले मन्दिरका विभिन्न कुराहरु समेटेर गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको र बाँकी काम गुरु योजनाअनुसार हुने उनको भनाई थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top