होमपेज / समाज
समाजमा कहिले काही कसैले खाएको, लगाएको, हिडेको र बोलेको समेत चर्चा हुने गर्दछ । त्यही कुरा उच्च ओहदामा बसेकाहरुमा भए समाचारनै बन्ने गर्दछ । केही समय पहिले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर जुम्लाको मार्सी रातो चालमको भात खुवाएका थिए । त्यसको चर्चा धेरै भयो । समाचार बन्यो, टीका टिप्पणी भयो र अहिले सेलायो । आखिर के हो मार्सी अर्थात रातो चामल ?
जुम्लाको मार्सी सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सबैभन्दा उचाई अर्थात समुन्द्र सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व यतिखेर नेपालमा मात्र होइन अन्तरराष्ट्रिय जगतसम्म पुगेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जुम्लाबाट हुलाकमार्फत दैनिक दुई मानाका दरले मार्सी धानको चामल पु¥याउने गरिएको थियो । यो क्रम मोहन शम्शेरको पाला २००७ सालसम्म जारी थियो । जग्गाको भोगचलन गरेवापत राज्यलाई बुझाउनुपर्ने तिरो पनि चामल नै थियो ।
जुम्लाको मार्सी धानको चामलमा फाइबरको मात्र बढी हुन्छ । यो चामलको भात खानाले सुगर र प्रेसरका बिरामीका लागि फाइदा हुन्छ । मार्सीको चामलमा आइरन, स्टार्चलगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वाद र स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मान्ने गरिन्छ । अर्काे कुरा बेलायत भ्रमणमा रहेका जंगबहादुरसँग बेलायती महारानीले नेपाली संस्कृति अनुसारको उपहारको अपेक्षा गरेपछि जंगबहादुरले महारानीलाई उपहार दिन मार्सी धानको चामल मगाएका थिए ।
जुन कुरा इतिहासकार प्राडा त्रिरत्न मानन्धर अनुसार बेलायत भ्रमणमा जाँदा जंगबहादुरले बेलायती महारानीका लागि गैँडाको खाग, हात्तीका दारा, खिनखापको कपडा जस्ता सामग्री लिएर गएका थिए । उपहार प्राप्त गरेपछि महारानीले भन्छिन् मलाई नेपाली संस्कृति हेर्न मन छ । उपहार पनि सोही अनुकूलकै ल्याएको भए पनि हुने थियो । त्यसपछि जंगबहादुरले महारानीलाई उपहारका लागि भनेर बेलायतबाट सूची बनाएर केही सामान मगाए छन् । बेलायती महारानीलाई उपहार दिने सामग्रीको सूचीमा ६–७ प्रकारका चामल पनि थिए । तिनमा मार्सी, मसिनो, टौली, मनसरालगायतका धानका चामल पनि थिए । यसबाट पनि मार्सी चामलको महत्व बढेको पाइन्छ ।
जुम्लामा करिब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बिऊm अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र भने हराएको छ । किवदन्ती अनुसार शुरुमा जुम्लामा कुनै पनि धान पाक्न सकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बिऊ ल्याएर शुरुमा लाछु जिउरो अर्थात तातोपानी नजिकको गाउँ भन्ने ठाउमा रोपेका र पछि अरु किसानले पनि यसै गरी रोप्दै जाँदा मार्सी धान यहाँ फैलिएको हो भन्ने भनाइ छ ।
जुम्लाको खलंगा वरपर र सिंजा क्षेत्रमा काली मार्सी धानको बिऊm राख्ने काम हरेक वर्ष चैत १२ गते हुन्छ । बिऊm राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र तामाको खडकुलो वा हण्डीमा धान भिजाएर राखिन्छ । चार दिनपछि अर्थात चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा अर्थात उनको कपडामा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुन पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ ।
यसरी राखिएको धानको रासलाई तातोस् भनेर सल्लाहको झाँपो र कपडाले छोपेर राखिन्छ । बिऊ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१–२२ गते उम्रेको भए त्यसलाई बासी बिऊ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बिऊलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र यसै दिन चेलीबेटीलाई बोलाएर देउडा नाच नचाइन्छ । यो दिनलाई बिसुवा पर्व भन्ने गरिन्छ । बिऊ छर्ने दिन भएकाले कसै कसैले यसलाई विच्छेती पर्व पनि भन्ने गर्दछन् ।
चैत १२ गते काली मार्सीको बिऊ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रुपमा बिसुवा पर्व मनाउने प्रचलन जुम्लामा छ । चैत २० गते ब्याडमा धानको बिऊ छर्नु पूर्व त्यसको पूजा गरिन्छ । चामलको पिठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन पनि रहेको छ । काली मार्सी धान काट्न विशेष दिन पारिन्छ । बुधबार या शुक्रबार पारेर मात्रै धान काट्ने परम्परा छ । जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेसिएको युवा घरमा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती पनि छ ।
विसं १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बिऊ राखेका थिए । बिऊको परीक्षण पछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न शुरु गरिएको हो । पहिले एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुनेमा केहि वर्ष यता आएर धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि मार्सी धानको उत्पादन घटदो अवस्था छ । संसारमा रातो रङको चामल दस प्रजातिभन्दा बढी छैन । नेपालमा जुम्ला बाहेक रातो धान अन्य जिल्लामा पनि फल्दछ । यसको नाम पहाडी जिल्लाहरुमा आगाँ भन्ने गरिन्छ भने दाङमा यसलाई सिमठारो भन्ने गरिन्छ । जुम्लाको काली मार्सी धानको चामल तिनै मध्ये एक हो । काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भुटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।
जुम्लाको गुठीचौर र बुम्रमाडीचौर बाहेक प्रायः सबै गाउँहरुमा काली मार्सी धानको उत्पादन हुँदै आएको छ । कृषि कार्यालय जुम्लाका अनुसार कुल धान खेत हुने क्षेत्रफल २,९५० हेक्टरमध्ये १३०० हेक्टरमा काली मार्सी धानको उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुमचौर र हाकुमा पनि किसानले काली मार्सी धानको उत्पादन गर्दै आएका छन् । यस्तै तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा पनि काली मार्सीको खेती गरिन्छ । काली मार्सीलाई चिसो मौसमका साथै धेरै पानी चाहिन्छ । उत्पादन घट्दै गएपछि धेरै किसानले मार्सी धान लगाउन छाडेका छन् । पछिल्लो समय काली मार्सीमा ब्लास्ट रोगको संक्रमण बढेपछि लोप हुने अवस्थामा पुगेको छ ।
जुम्लामा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बिऊ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् । जुम्ली मार्सी नेपालको उच्च पहाडी जिल्लाहरु जुम्ला, बाजुरा तथा बझाङ जिल्लामा सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । मार्सी धान संसारको सबैभन्दा उच्च २७ सय ९० मिटरमा फल्ने जातको रुपमा चिनिन्छ । यो धान ज्यापोनिका प्रजातिको रैथाने धानको जात मानिन्छ । जुम्ली मार्सीको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र प्रशस्त पोषकतत्व भएकोले यसको महत्व मानिन्छ ।
जुम्ली मार्सीलाई जुम्ला जिल्लाको पहिचानको रुपमा लिइन्छ । शितोष्ण हावापानीको लागि उपयुक्त मानिँदै आएको मार्सी जातको धानमा चिसो सहन सक्ने जिन (वंशाणुगत गुण) रहेको अन्तरराष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले जनाएको छ । जुम्लामा मन्दिरमा चढाउने, होम गर्न तथा अक्षता बनाउन मार्सीको चामल प्रयोग गर्ने धार्मिक प्रचलनले पनि यो धानको महत्व अझ बढेको छ । तर यो मार्सी धानको उत्पादन धेरै हुदैन । जुम्ली मार्सीको उत्पादकत्व जम्मा १.७ टन प्रति हेक्टर मात्र रहेको छ । जुन राष्ट्रिय औषतको ४० प्रतिशतले कम हो । जुम्लामा मार्सीको उत्पादन प्रतिहेक्टर १५ क्विन्टल हुने गरेको पाइन्छ । मार्सी धान जुम्ला जिल्लाभरको उत्पादन करिब २ हजार ८० मेट्रिक टन रहेको छ । जसबाट १ हजार २ सय ४८ मेट्रिक टन चामल निकाली कर्णाली प्रदेशलगायत देशका विभिन्न ठाउँहरुमा बिक्री वितरण भएको पाइन्छ ।
जुम्ली मार्सी धान लोप हुने अवस्थामा पुगेको छ । यो धान व्लाष्टप्रति अतिसंवेदनशील भएकोले दिनानुदिन उत्पादनमा ह्रास भइरहेको छ । उत्पादनमा आएको ह्रासले गर्दा किसानले लगाउन छाडेको अवस्था रहेको छ । किसानहरुको मार्सी धानप्रति आक्रर्षण घट्नुको अर्काे कारण असिना पानी पर्दा अत्याधिक धान झर्नु पनि हो । जुम्ली मार्सी अग्लो प्रजातीको धान भएकाले धान ढल्ने समस्या भइ बाली भित्र्याउन पनि कठिन हुन्छ । आजभोली किसानहरुको रोजाइ होचो प्रजातिका धानहरु तिर छ ।
पछिल्लो समय नेपाली राजनीतिक बृत्तमा यस धानले ब्यापक चर्चा पाएको छ । ढिलै भए पनि नेपालको राजनीतिक तहमा यस धानको चर्चा हुनुले रैथाने बालीहरुको सम्वद्र्धनका लागि सकारात्मक सन्देश दिएको बुझ्न पर्छ । नेपाल विश्वमै प्रचुर रैथाने बालीहरु भएको देशका रुपमा चिनिन्छ । नेपालमा लट्टे, कोदो, अनौती, कागुनु जस्ता अत्याधिक पोषण भएका जंगली जातका बालीहरुको डोमेस्टिकेसन भइ रैथाने जातको बालीमा परिणत भएका छन् । तर लोपोन्मुख रैथाने बालीहरुका प्रजातिहरुको चर्चा हुन जरुरी छ । ढिलै भए पनि जुम्ली मार्सीको चर्चाले देशका अन्य रैथाने बालीहरुको पनि चर्चा भएमा सरकारी तथा गैह्रसरकारी निकायबाट ती बालीहरुको व्यवसायीकरणको पहल हुन जरुरी छ ।

जुम्लामा पाइने अन्नबालीमा मकै, कोदो, जौं, गहु धान, फापर, चिनु, कागुनु आदि प्रमुख छन् । फलफूलमा स्याउ, ओखर, खुर्पानी आरु बखडा आदि प्रमुख छन् । सिमी, भट्मास, आलु, गाजर, केराउ, केशर, गुच्चे च्याउलाई नगदे बालीको रुपमा जुम्लामा लिने गरिन्छ । मौरीपालन, भेंडा, बाख््राा च्यांग्रा पालन व्यवसायले पनि जुम्लालाई चिनाउने गरेको छ । जुम्लाको मार्सि धान नेपालकै प्रख्यात धान हो । जुम्लाको स्याउ खेतीलाई व्यवसायिक रुपले लैजान थालिएको छ । तर पनि जुम्ला जिल्ला खाद्यान्नका लागि तराइका जिल्लाको भर पर्नु पर्दछ ।
आजभोलि जुम्लामा पनि धेरै कृषकहरुले काली मार्सी धानको खेती गर्न छाडेका छन् । काली मार्सीमा बलास्ट रोगको संक्रमण देखिएपछि विकल्पमा कृषकहरुले उन्नत जातको धान लगाउन थालेका छन् । उत्पादन बढी लिनको लागि जुम्ली मार्सीको साटो कृषि अनुसन्धान केन्द्र, जुम्लाले चन्दननाथ १ र चन्दननाथ ३ जातको धान सिफारिस गरेको छ । उन्नत जातको धान स्वादिलो नभए पनि असिनाले झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै हुने भएकाले किसानको रोजाइमा मार्सी भन्दा उन्नत जातको धान रोप्ने गरेका छन् ।