होमपेज / समाज
सुर्खेत । अभिभावकले बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण सिर्जना गर्नै प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयमा बालबालिकालाई पठन पाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालयमा बालबालिकाहरुलाई विद्यालय आइरहने वातावरण सिर्जना गर्ने बताएका हुन् । एभरेष्ट क्लव दैलेख, सेभ द चिल्ड्रेन युवा सशक्तीकरण बुलगारी परियोजनामार्फत विद्यालयमा विद्यार्थी नियमितता गराउने उद्देश्यले सञ्चालन गरिएको अभिभावक अभिमुखीकरणमा सहभागी अभिभावकहरुले यस्तो बताएका हुन् ।
साथै उनीहरुले अभिमुखीकरण कार्यक्रमबाट सिकेका कुराहरुलाई आफूले पनि लागू गर्ने र अन्य अभिभावकलाई जानकारी गराउने, बालबालिकालाई घरमा पनि पढ्ने वातावरण सिर्जन गर्नेसमेत प्रतिवद्धता जनाएका छन् । परियोजनाअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिकाका कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीका अभिभावकहरुको बीचमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
जसअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिकाको श्री जयदेव माध्यमिक विद्यालय जम्बुकाँधका विभिन्न कक्षाका २२ जना अभिभावक, श्री बिन्द्रासैनी माध्यमिक विद्यालयका ४७ जना र गुराँस गाउँपालिकाका श्री लक्ष्मी मावि रतिखोलाका २८ गरी ९७ जना अभिभावकहरु सहभागी भएको एभरेष्ट क्लव दैलेखका परियोजना संयोजक टेकराज आचार्यले जानकारी दिए । अभिभावक अभिमुखीकरण कार्यक्रममा बालबालिकालाई विद्यालयमा कसरी नियमित गराउन सकिन्छ भन्ने बारेमा छलफल तथा समीक्षा गरिएको उनको भनाई छ । विद्यालयमा बालबालिकालाई नियमितता गराउनका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुने भन्दै उनले बाल अधिकार, बाल यौन दुव्र्यवहार, घरेलु हिंसा, बालविवाह, जस्ता विषयमा अभिभावकसमेत सचेत हुनुपर्ने बताए ।