होमपेज / समाज
नेपाललाई कृषि प्रधान देश अझै भनिदैछ । किनकि अझै ६५ प्रतिशतभन्दा बढी मानिस कृषि पेशामा निर्भर रहेको तथ्याङ्क छ र देशको कुल ग्राहस्थ आम्दानी मध्ये झण्डै ३० प्रतिशत जति आम्दानी कृषिबाटै आएको अवस्था छ । तर, देशमा आवश्यक खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध र दुधजन्य वस्तु, मसला आदि विदेशबाट आयात हुने क्रम रोकिएको छैन मात्र होइन समग्रमा घटेको पनि छैन । देशमा कृषि उत्पादनका लागि आवश्यक जमिन, हावापानी, मौसम, श्रम शक्ति आदि जस्ता आधारभूत आवश्यकताको उपयुक्तता छ । तर पनि देशमा कृषिको उत्पादन किन आवश्यकता अनुसार हुन सकेन ?
यसबारेमा संक्षिप्त चर्चा नगरी उत्पादन कसरी बढाउन सकिन्छ भनेर चर्चा गर्दा अलि सान्दर्भिक हुँदैन । किनकि समस्याको पहिचान भएपछि मात्रै समाधानको बाटो निकाल्न सकिन्छ ।
कृषिमा देखिएका र भोगिएका समस्याः
१) विगतमा कृषि निर्वाहका लागि मात्रै गरिन्थ्यो ।
२) कृषिमा पुरानो प्रविधि (गोरु, हलो, कुटो, कोदालो) र अत्यधिक मानवीय श्रमशक्तिको प्रयोग हुने गरेको थियो ।
३) सबैले खेती गर्ने भएकाले सीमित उत्पादनले पनि काम चल्थ्यो ।
४) परिवारका लागि चाहिने लगभग सबै उत्पादन आफै गरिन्थ्यो । अथवा आफूले जे उत्पादन गरिन्छ त्यही प्रयोग गर्ने गरिन्थ्यो ।
५) पुरानो र परम्परागत शिप, ज्ञान र प्रविधिले नै धानेको थियो ।
६) सबैसँग आफ्नो निजी जमिन नभए पनि भूमिहिन मजदुर र किसान अर्काको जमिनमा काम गरेर निर्वाह गर्थे । त्यसैले जमिन भएकाहरुलाई श्रमिकको खाँचो थिएन । मानवीय श्रम सस्तो थियो ।
७) थोरै थोरै जमिन भएकाहरु आफै श्रम गर्थे । अर्मपर्मले खेती गर्न र खेती उठाउन सजिलो हुन्थ्यो ।
८) बिऊबिजनको जोहो किसानले आफै गर्थे । रैथाने जातका बिऊले नै पुग्थ्यो ।
९) रोग किराको प्रकोप धेरै थिएन ।
१०) जमिनमा प्रशस्त उर्वरा शक्ति थियो । रासायनिक मलको प्रयोग भएकै थिएन ।
११) कृषिश्रम र कृषि पेशा सम्मानित नै थियो ।
१२) गाउँले जीवनका आवश्यकता सीमित थिए त्यसैले पैसाको आवश्यकता धेरै थिएन । थोरै पैसाले जीवन धानिन्थ्यो ।
१३) कृषि पेशा निर्वाहको आधार मात्रै भएको र व्यवसाय तथा उद्यम भइनसकेको कारण लागतको हिसाब गरिदैन थियो । त्यसैले नाफाघाटा हेरिदैन थियो ।
१४) उत्पादन सीमित भएकाले बजारको आवश्यकता नै थिएन ।
अबको कृषिको उद्देश्य
अबको कृषि निर्वाहको साधन होइन पेशा, व्यवसाय र उद्यम हो । त्यसैले यसमा हिसाबकिताव राख्नुपर्छ, राखिन्छ । लगानिको हिसाब हुन्छ । खर्च कटाएर नाफा देखिनुपर्छ । उत्पादनले बजार र बजारमा उचित मूल्य पाउने व्यवस्था हुनुपर्छ । कृषिमा व्यवसाय र उद्यमको सम्भावना, धेरैले भन्ने गरेको सुनिन्छ, खेती (कृषि)ले पोसाउँदैन । काम गर्ने मानिस भेटिदैनन् । पहिला जस्तो फल्दैन । फलि हालेछ भने पनि बजारमा बिक्री हँुदैन । बिक्री नै भएछ भने भाउ पाइदैंन । आदि आदि ।
सरकार कृषिका उत्पादन बढाउन चाहन्छ । किनकि देशले सधै कृषिका उत्पादन आयात गरेर बढेको व्यापार घाटा धान्न सक्ने अवस्था छैन । व्यापार सन्तुलन कायम गर्न आयात घटाउनुपर्छ र निर्यात बढाउनुपर्छ । निर्यात गर्ने सेवा वस्तु देशमा हुनुप¥यो र त्यसले विदेशी बजार पाउनुप¥यो । अरुका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । त्यो सम्भावना एकदमै थोरै छ । त्यसैले व्यापार घाटा कम गर्न आयातित वस्तु तथा सेवा कम गर्नुपर्छ । आयात कम गर्न देशभित्रै उत्पादन बढाउनुपर्छ । अहिले उत्पादन बढाउने र देशभित्रै थोरै मेहेनतमा गर्न सकिने, देशमै बेच्न सकिने भनेकै कृषि उत्पादन हो ।
कृषि उत्पादनका लागि उचित हावापानी, जमिन र श्रमशक्ति हामीसँग छ । हामीले जान्नुपर्ने, सिक्नुपर्ने, विधिप्रविधि, कृषि ज्ञान, लगानि गर्ने साहस र वातावरण, जमिन र हावापानी अनुसारको बालिको छनोट र प्रयोग, सिचाई, बजार, सुरक्षा (बिमा) आदि जस्ता विषयमा उचित ध्यान दिन सके थोरै समयमा धेरै काम गर्न सकिने क्षेत्र नेपालको हकमा कृषि हो । त्यसैले धेरै सम्भावना यो क्षेत्रमा छन् । अब कृषिको व्यवसायिकीकरण र उद्यमको प्रचुर सम्भावना छ ।
कृषि पेशालाई कसरी व्यवसायिक बनाउने ? कृषि भन्ने वित्तिकै यसको क्षेत्र एकदमै व्यापक छ । त्यसैले यहाँ सबै विषयको चर्चा त के उठान पनि सम्भव छैन । त्यसैले मैले यहाँ सबैले, सबैतिर र सजिलै गर्न सकिने तरकारी, मसला, फलपूmल र खाद्यन्न बालिका लागि कसरी वातावरण बनाउन सकिन्छ भनेर मात्र केही चर्चा गर्ने जमर्को गरेको छु । यो मोडल सफल भएपछि यसबाट सिकेका कुरा र अनुभवको आधारमा अरु क्षेत्रमा, अरु विषयमा विस्तार गर्न सकिन्छ । हाम्रो समाज, भुगोल, सांस्कृतिक चिन्तन, सोच, निजी सम्पतिको महत्व र प्रभाव, निजी स्वामित्वमा व्यक्ति र परिवारको लगाव, परम्परा आदि कारणले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गर्न हामीले दुई किसिमको बाटो (तरिका) अपनाउन उपयुक्त ठानेको छु ।
क) पहिलो बाटो (तरिका)ः साना किसानहरुको उत्पादन समूह ।
१० क्षेत्रको चयनः एउटा समूहका लागि बढीमा एउटा पालिका वा केही वडाहरुमात्रलाई समावेस गर्ने ।
२० किसान समूहको निर्माणः निम्न अनुसारको सर्त स्वीकार्ने किसानको समूह बनाउने ।
न्युनतम १० कठ्ठा जमिनमा वर्षैभरी खेती गर्ने तत्परता भएको ।
संस्थाले सञ्चालन गरेको कृषि पाठशालामा सहभागी हुन मन्जुर गरेको
संस्थाले दिएका सुझाव लागु गर्ने तत्परता भएको
आपूmसमेत समावेश भएर बनाएका नीति नियमको पुर्ण पालना गर्ने तत्परता ।
कृषिलाई नै मुख्य व्यवसाय र आयश्रोतको आधार मानेको
आफ्नो व्यवसायमा आफू पनि श्रम गर्ने तत्परता भएको
समयसमयमा बनेका निति नियमको पालना गर्ने तत्परता
समूहमा आवद्ध हुँदाका फाइदाः एउटै ‘गोलमा भएका किसानको छनोटले संस्थाले दिने सेवासुविधा (कृषि तालिम, मल बिऊबिजनको छनोट र प्रयोग, वित्तिय सहयोग, औजार उपकरणको सेवा, प्राविधिक सेवा, माटोको परीक्षण, बालिको संकलन र भण्डारण आदि) का लागि सहज हुन्छ । किसानले लगाउने बालिको छनोटमा सहजता हुनसक्छ । किसानले उत्पादन गरेको फसलको बजारीकरण गर्न सहज हुन्छ । किसानका अनुभवको आदानप्रदानमा सहजता हुन्छ । नजिकैमा भएको सफलता वा असफलताबाट अरुले सजिलै सिक्न सक्ने अवसर हुन्छ ।
समूहको नामाकरणः यस्ता समूहको नामाकरण गरिने छ । जस्तै .... उत्पादक कृषि समूह – १, ठेगाना ..
समूह सञ्चालनको कार्यविधि ः यसरी गठन भएका उत्पादक कृषि समूहको सञ्चालनका लागि समूह आफूले नियम बनाउने छ । नियम बनाउन संस्थाले सहजीकरण गर्नसक्छ । संयोजक र सचिव समूहले छनोट गर्नेछ । धेरै सदस्य भएको अवस्थामा समिति बनाउने छ । न्यूनतम पनि महिनामा एक पटक र अरुवेला आवश्यकता अनुसार बैठक बस्नेछ । बैठकमा कृषकले लगाउने बाली र उत्पादनसँग सम्वन्धी विषय, समस्या र समाधानका बारेमा छलफल गर्ने र समाधान निकाल्ने छन् । उत्पादक समूहका सबै किसानले आआफ्नो व्यवसायिक योजना प्रस्तुत गर्ने र आवश्यक सामग्री वा सेवाको सुचि तयार गर्ने ।
सबैको सुचि तयार भएपछि एकमुष्ट सामग्री र सेवाको सुचि नै समूहको सुचि बन्नेछ । समूहले आफ्नो बाली लगाउने योजना मासिक, त्रैमासिक, मौसमी वा वार्षिक बनाउने अभ्यास गर्नुपर्छ । उत्पादनको अनुमानित खाका तयार गर्नुपर्छ ता कि बिक्री गर्न सहज हुन सकोस् । समूह सञ्चालनको कार्यविधिका थप नियमहरु समितिले अनुभवका आधारमा बनाउँदै जानेछ ।
समूह सञ्चालनको जिम्वेवारीः यस्ता समूहको परिचालनको जिम्मा सहकारीहरुलाई दिनुपर्छ । सहकारीलाई स्थानीय पालिका र प्रदेश सरकारले सहयोग गर्नुपर्छ । सहकारीले यस्ता समूहलाई आवश्यक पर्ने कृषक सेवा दिन सधै तयार हुनुपर्छ ।
यो पहिलो बाटोले ससाना किसानलाई जोड्ने, जोड्दै जाने र कृषि कर्ममा आवश्यक सहयोग र प्रोत्साहन गर्दै उत्पादन बढाउने छ । उत्पादनसँगै अनुभव, सिकाई र हौसला बढने छ । यो हाम्रो संस्कृति, सोच, व्यक्तिगत स्वामित्व, पारिवारिक श्रम, समूहमा सिकाई र समूहको पहुँचमा बजारीकरण गर्न सघाउ पुग्नेछ । यो बाटोमा किसानले आफूलाई आवश्यक पर्ने मल, बिऊ, सूचना र प्रविधिको बारेमा नियमित जानकारी पाउनेछन् भने किसानसँग नभएको कृषि औजार उचित भाडामा (कस्टम हायरिङ सेण्डरबाट) सहकारीबाट पाउने छन् ।
किसानलाई आवश्यक पर्दा कृषि कर्जा पनि सहकारीबाटै लिन सक्नेछन् । किसानका उत्पादनको बजारीकरणमा सहकारीले नै भूमिका खेल्ने छ र किसानलाई धेरैभन्दा धेरै लाभ पु¥याउन कोशिस गर्नेछ । किनकि ती सबै किसान सहकारीका सदस्य हुन् । कृषि र बहुउद्देश्यीय सहकारीले यस्ता समूह निर्माण गरेर किसानलाई कृषि व्यवसायी र कृषि उद्यमी बनाउन सकिन्छ । धेरै समूहलाई सेवा दिन कृषि पाठशाला, कृषि विशेषज्ञ, मलबीऊ र साना कृषि औजारको सहजीकरणका लागि संस्था आफैले व्यवस्था गर्न सकिन्छ ।
ठूला कृषि मेशिनसहितको कस्टम हायरिङ सेण्टर, शित भण्डारको व्यवस्था, कृषि बजारसम्मको पहुँच आदि जस्ता काम सहकारीको माध्यमबाट सहजै गर्न सकिन्छ । सहकारीले यी काम गर्दा बिचौलिया व्यपारीको भूमिकाका कारण किसानले ठगिनु पर्ने, उत्पादनको मूल्य कम पाउने र आफैले खरिद गर्ने समानमा अधिक मूल्य तिर्नुपर्ने समस्याबाट क्रमशः सहजता महशुस हुन थाल्ने छ ।
ख) दोस्रो बाटोः व्यवसायिक कृषि फर्मको आवश्यकता
यो बाटोमा खेती लगाउने जमिनको चाक्लाबन्दी गर्ने । चाक्लाबन्दी गर्न सीमा मिलेका जमिनहरु जोड्दै जाने । जमिनका मालिकलाई वार्षिक भाडा दिने । यसरी जग्गाको ठूलो क्षेत्रफल बनाएर ठूला मेशिन उपकरणको समेत प्रयोग गरेर कृषि फार्म सञ्चालन गर्ने । यसमा संघीय, प्रदेश सरकार र पालिकाले सघाउनुपर्छ । यस्तो फार्म कम्पनी, सहकारी, समूह वा व्यक्तिले पनि सञ्चालन गर्न सक्छन् । यसको प्रयोग शुरु पनि भएको छ । यसका लागि नीतिगत सुधारको खाँचो छ ।
यस्ता फर्म आफैले पनि विशेषज्ञ र धेरै मेशिन उपकरणको व्यवस्था गर्न सक्ने छन् । सबै मेशिनको व्यवस्था हुन नसकेको अवस्थामा कस्टम हायरिङ सेण्टरबाट यस्तो सुविधा लिन सक्ने छन् । अबको कृषिमा पुरानो सोच, पुरानो प्रविधिले काम गर्दैन । त्यसका लागि कृषि ज्ञान भएका र प्रविधि बुझेको युवा जनशक्तिको आवश्यकता छ । यस्तो जनशक्तिको उत्पादनमा सरकारले विशेष ध्यान दिनु र प्रोत्साहन गर्नुपर्छ ।