होमपेज / समाज
सुर्खेत, २ फागुन
स्थानीयबासीलाई उद्यमी बनाउनका लागि चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ ले दुना, टपरी बनाउने तालिम दिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले दुना, टपरी बनाउने तालिम दिएको हो ।
नगरपालिकाको ८ नम्बर वडा कार्यालय र एभरेष्ट क्लब दैलेखको समन्वय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोगमा दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्रक (सेवक) दैलेखकोे आयोजनामा तालिम शुरु भएको हो ।
वडा नम्बर ८ का वडा अध्यक्ष वीरबहादुर शाहीले तालिमले वन, जंगलमा खेर गएका स्रोत साधनहरुको सही सदुपयोग गर्न सकिने बताए । ‘वडा कार्यालयको सडक, पूर्वाधार मात्रै नभएर विभिन्न खालका उद्यमशीलता सम्बन्धीका कामहरु आवश्यक छन् ।’ उनले भने, ‘चाँडै नै दुना टपरी उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्ने तयारी छ ।’
दुना, टपरी उद्योग नै सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढेको र विद्युत लाइन पुगे लगत्तै उद्योग सञ्चालन गरिने वडा अध्यक्ष शाहीले बताए ।
गएको माघ २६ गतेबाट सञ्चालन भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ । तालिममा महिला तथा पुरुष गरेर १५ जनाको सहभागिता रहेको छ ।