ट्रेण्डिङ

होमपेज / समाज

चिसो अत्यधिक बढेपछि मुगुको मानव बस्ती डेढ दशकदेखि रित्तै 

नेपालगाथा २०७६ फाल्गुण १ गते बिहीबार १५:४८:२६ मा प्रकाशित

मुगु,खड्क सुनार। जिल्लाको पूर्वी भेगमा पर्ने कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने हिमाली खोँचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउँदै बसाईं सरेपछि गाउँ नै रित्तो भएको छ । ठूलाठूला हिमालले घेरिएको खोल्सीमा रहेको सो बस्तीमा दिनको तीन घण्टामात्र घाम लाग्ने हुँदा चिसोको कारण देखाउँदै १५ वर्षदेखि स्थानीयले गाउँ छाडेका हुन् । गाउँपालिकाको–१ नं वडामा पर्ने वाङग्री गाउँमा ७५ घरधुरी रहेका थिए । वर्षमा चैत, वैशाख र जेठमा मात्र घाम लाग्ने हिउँदका दिनमा भने २ घण्टामात्र यो स्थानमा घाम लाग्ने गर्छ । सधैं हिउँ जमिरहने भएपछि गाउँमा अत्यधिक चिसो हुने र बसोबासमै कठिनाई झेल्नु परेकाले सिङ्गो गाउँबासी नै बसाईं सरेर जुम्लाको चौध बीसतिर  पुगेका छन् । 

वैशाख, जेठ र असार बाहेकका महिनामा पशुचौपाया नै पाल्न कठिन हुने र मानिसलाई पनि चिसोले असर गर्दै गएपछि गाउँ नै खाली भएको स्थानीयबासी उर्गेन लामाले जानकारी दिए । ‘भिरालो जमिन मात्रै भएको वाङग्री गाउँमा आलु र फापर बाहेक अन्य केही उत्पादन हुँदैन,’ लामाले भने, ‘खाद्यान्न जोहो गर्ने कठिन हुन थालेपछि वाध्य भएर वाङग्रीका स्थानीयले थातथलो नै छाडेका हुन् ।’ 
जाडो छल्न भन्दै २०६० सालदेखि गाउँ छाड्न थालेका स्थानीय वाङग्रीमा फर्किएका छैनन् । क्रमशः सबैले गाउँ छाड्दै गएपछि हाल बस्ती नै मानव शुन्य भएको छ ।  

जिल्ला सदरमुकाम गमगढीबाट वाङग्री गाउँ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । मानिसले गाउँ नै छाडेपछि त्यहाँका खेतीयोग्य जमिन बाझिँदै गएको छ, घरहरु भत्कन थालेका छन् । बसाईं सरेर गए पनि स्थानीयहरु चुनावमा मतदान गर्न, जडीबुटी संकलन गर्न र गाउँपालिकाको वडामा हुने विकास निर्माणको काम सम्पन्न गर्न वर्षको एक महिना जाने गर्छन् । वाङग्री गाउँको वन पाखामा प्रचुर मात्रामा जडिबुटी तथा खनिज वस्तु पाइन्छ । मानव वस्ती शून्य भए पनि पछिल्लो समय यस क्षेत्रमा वन्यजन्तुको चोरी शिकार बढेको छ ।  वाङग्री गाउँ पुग्न दोल्फु कर्णाली नदी पार गर्नुपर्छ । तर अहिलेसम्म सो नदीमाथि पुल हालिएको छैन । पर्यटकहरु तुईन र काठे पुलबाट दोल्फु कर्णाली पार गरेर त्यस क्षेत्रमा घुम्न जाने गर्छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top