ट्रेण्डिङ

होमपेज / समाज

एमयूले बिई हाइड्रोपावर अध्ययनको स्वीकृति असार मसान्तसम्म लिइसक्ने 

नेपालगाथा २०७६ फाल्गुण १ गते बिहीबार १५:४२:४३ मा प्रकाशित

सुर्खेत,वसन्त भण्डारी। मध्यपश्मिाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ संकायले आउने असार मसान्तसम्म बिई हाइड्रोपावर अध्ययनको स्वीकृति लिइसक्ने जानकारी दिएको छ । नेपालमै पहिलो पटक सञ्चालित बिई हाईड्रोपावर बिषय मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन, नियमको अधिनमा रही विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद् र कार्यकारी परिषद्बाट स्वीकृत भइसकेको छ । 
विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेले २०७४ सालदेखि प्रक्रियामा रहेको र आगामी असार मसान्तसम्म स्वीकृति लगिसक्ने बताए । 

यस अघि हाइड्रोपावर विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले परिषद्बाट स्वीकृति नलिएको भन्दै विरोधसमेत गरेका थिए । काउन्सिलबाट हाइड्रोपावर संकायको स्वीकृति विषयमा जानकारी सम्पूर्ण विद्यार्थी माझ आधिकारिक रुपमा जानकारी गराइनुपर्ने, लोकसेवासँग सहकार्य गरी विद्यार्थीको भविष्य सुनिश्चिता गरिनुपर्ने जस्ता मागहरु राखेका थिए । विरोध स्वरुप विद्यार्थीहरुले सम्पूर्ण प्रशासन र इन्जिनियरिङ संकायको पठनपाठनसमेत अवरुद्ध गरेका थिए । विद्यार्थीको विरोधपछि मंगलबार विद्यार्थी र इन्जिनियरिङ संकायका पदाधिकारीहरुको संयुक्त रुपमा बसेको वार्ताले असार मसान्तसम्म स्वीकृति लिने गरी सहमतिको आधारमा आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विद्यार्थी दिनेश तिवारीले जानकारी दिए । 

स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको र नेपाल इन्जिनियरिङ परिषद्बाट पटक–पटक अनुगमन भएको भन्दै डिन घिमिरेले प्रथम व्याचका विद्यार्थीहरुको अन्तिम सन्त्रान्त परीक्षा अगावै बिई हाइड्रोपावरको दर्ता प्रक्रिया सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ केन्द्रीय क्याम्पसले शैक्षिक सत्र २०७३÷०७४ देखि बिई हाइड्रोपावर बिषय नेपालमै पहिलो पटक सञ्चालन गरेको थियो । नेपालमा नै पहिलो भएकाले नेपाल इन्जिनिररिङ् परिषद्ले समेत अध्ययनसहितको सुझाव पेश गर्न परिषद्का उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरी कार्य गरिरहेकाले असार मसान्त अगावै टुङ्गिने उनको भनाई थियो । 

डिन घिमिरेले भने, ‘उनीहरुको पढाइको जिम्मा हामीले लिन्छौँ । विद्यार्थी पास हुनु अगावै सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्रदान गर्छौ । त्यसका लागि संकाय लागिपरेको छ ।’ हाल विश्वविद्यालयमा हाइड्रोपावर इन्जिनियरिङको पहिलो वर्षमा ३५, दोस्रो वर्षमा ४५, तेस्रो वर्षमा ४६ र चौथो वर्षमा ४० जना विद्यार्थी अध्ययनरत छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top