होमपेज / समाज
वसन्त भण्डारी, सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरिने भएको छ । बुधबार राष्ट्रिय अविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच समझदारी पत्र (एमओयू) पत्रमा हस्ताक्षर भएसँगै कर्णालीमा आविस्कार केन्द्र स्थापनाका लागि बाटो खुलेको हो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कर्णालीमा राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर सञ्चालन गरिसक्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । कर्णाली उद्यमशीलता नेतृत्व शिखर सम्मेलन कार्यक्रमका लागि सुर्खेत आएका डा. पुन र विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै डा. पुनले कागजमा मात्रै हस्ताक्षर नभएर काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । पैसाको अभावमा कुनै पनि काम नरोकिने भन्दै उनले समयमा नै काम सम्पन्न हुने बताए । कर्णालीको विकास आविस्कार केन्द्र जरुरी भएकाले राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा अघि बढाइएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेले जानकारी दिए । आविस्कार केन्द्रका लागि लगानी राष्ट्रिय आविस्कार केन्द्रको हुने र विश्वविद्यालयले त्यसका लागि सहजीकरण गर्ने उनको भनाई थियो । साथै उनले आविस्कार केन्द्र सञ्चालनका लागि विश्वविद्यालयले एउटा कार्यविधि बनाउने उनको भनाई थियो ।
‘समृद्ध कर्णाली – बलियो कर्णाली’ बनाउने महाअभियानका साथ कर्णालीमै पहिलोपटक अन्तरराष्ट्रियस्तरको आर्थिक÷राजनीतिक सम्मेलन बुधबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले आउदो नोभेम्बरमा मुगुको रारामा लगानी सम्मेलन गर्ने, जुन महिनामा जुम्लामा आर्थिक तथा व्यवसायिक सम्मेलन गर्ने जस्ता विभिन्न कार्यक्रमहरुको घोषणासमेत गरेको कार्यक्रम संयोजक डम्बर साहुले जानकारी दिए ।