ट्रेण्डिङ

होमपेज / समाज

अपराधमा मोबाइलको प्रयोग बढी  

नेपालगाथा २०७६ माघ २८ गते मंगलबार १४:५६:३९ मा प्रकाशित

काठमाडौं । नेपालमा इन्टरनेटको माध्यमबाट हुने साइबर अपराध बढेको छ । प्रविधिको पहुँच र विकाससँगै साइबर अपराध बढेको हो । यसअघि परम्परागत हातहतियार प्रयोग गरेर हुने अपराधका शृंखला अहिले विस्तारै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका छन् । इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, इमो, भाइबर, एटिएम ह्याकिङ, बैंकिङ सफ्टवयर ह्याकिङलगायतका अपराध बढेको प्रहरीको आधिकारिक तथ्यांकले बताउँछ ।

आर्थिक वर्ष २०७३÷०७४ मा इन्टरनेटको माध्यमबाट भएका अपराधका १ हजार १९७ वटा मुद्दा महानगरीय अपराध महाशाखामा पुगेको तथ्यांक छ । अर्काे आर्थिक वर्ष ०७४ र ७५ मा २८५ बढेर १ हजार ४८२ र २०७५ र ०७६ मा १ हजार ९२८ वटा मुद्दा महाशाखामा परेका छन् । आर्थिक वर्ष २०७६ र ०७७ को पहिलो ६ महिनामा महाशाखाले ६३४ वटा मुद्दा चलाएको छ । अपराध महाशाखाबाट दैनिक ३÷५ वटा साइबर अपराधका मुद्दा चलाउने गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) सहकुल थापाले बताए । ‘सूचना प्रविधिको विकाससँगै अपराधका घटनाको पुरानो शैली परिवर्तन भएको देखिएको छ । अहिले दिनानुदिन इन्टरनेटको माध्यमबाट हुने अपराधहरू बढेका छन्,’ प्रमुख थापाले भने ।

आर्थिक कारोबार सबैजसो बैंकबाट हुने भएकाले  बैंकिङ कसुर पनि बढेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीले बताए । ‘साइबर अपराध नियन्त्रण गर्न साइबर अपराध अनुसन्धान ब्युरो भनेर नेपाल प्रहरीले गत वैशाखदेखि छुट्टै ब्युरोसमेत खडा गरेको छ,’ उनले भने, ‘महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि साइबर अपराधको छुट्टै एउटा साइबर पिल्लर छ । केन्द्रीय अनुसन्धान ब्युरोमा पनि साइबर हेर्ने छुट्टै पिल्लरबाट नेपाल प्रहरीले काम गर्दै आएको छ ।’

इन्टरनेटको माध्यमबाट हुने आर्थिक अपराध ह्याकिङ, सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइबरलगायतबाट हुने अपराध बढ्न सक्ने कुरालाई दृष्टिगत गरेर प्रहरी संयन्त्रलाई संरचनागत रुपमा विकास गरिएकोे नेपाल प्रहरीका डीआईजी थापा क्षेत्रीले बताए । ‘साइबर अपराधलाई नियन्त्रण गर्न र कमी ल्याउनको लागि संरचनागत रुपमा नै विकास गरिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल फेसबुक, ट्विटर, यूट्युबलगायतमा हुने अपराधलाई नियन्त्रण गर्न प्रहरीले आफ्नो तर्फबाट संरचना निर्माण गरेको छ ।’ बैंकिङ अपराध घटाउन र साइबर सुरक्षा बढाउन बैंक र सहकारीसँग समन्वय र छलफल गरिरहेको प्रवक्ता थापा क्षेत्रीले बताए ।

बैंक र सहकारीमा के कस्ता प्रकारका समस्याहरू हुन्छन् ? आर्थिक ठगी कसरी हुन सक्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर अन्तक्र्रिया र छलफल गरिराखेका छौं,’ डीआईजी थापा क्षेत्रीले भने, ‘विगत ३ वर्षको इन्टरनेटबाट हुने अपराधलाई हर्ने हो भने सामान्यतया १५ देखि २० प्रतिशत बढेको देखिन्छ । यसरी हेर्दा अपराध अझ बढ्नुपर्ने थियो । अझ मुलुकी अपराध संहितामा अपराधका तहको संख्या बढेको छ ।

यसले गर्दा प्रतिशतको आधारमा बढेको देखाउनुपर्ने हो तर यो वर्षमा अपराध हुने अनुपात ८ देखि ९ प्रतिशत छ । यसले के देखाउँछ भने पहिलाभन्दा परम्परागत अपराध घटेको देखिन्छ ।’ प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराधबारे विभिन्न विद्यालय, समुदाय, कलेजमा जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेको छ ।

२० देखि ३० वर्ष उमरेका धेरै
महानगरीय अपराध महाशाखाको पछिल्लो ५ महिनाको तथ्यांकलाई हेर्दा २० देखि ३० वर्ष उमेर समूहका युवा संलग्न भएका ३०४ वटा मुद्दा दायर भएका छन् । यो अन्य उमेर समूहभन्दा धेरै हो । ३० देखि ४० वर्षका व्यक्ति संलग्न भएका १२६ वटा मुद्दा दायर भएका महाशाखाले जनाएको छ । २० वर्षमुनिका ७८ वटा मुद्दा छन् भने ४० वर्षमाथिका ५३ वटा मुद्दा दायर गरिएको छ । साइबर अपराधबाट पुरुषभन्दा महिला बढी पीडित भएको देखिएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा महाशाखामा ३७६ जना महिला पीडित देखिएका छन् भने २५८ जना पुरुष पीडित छन् ।

फेसबुकमा धेरै अपराध
महाशाखाको तथ्यांक अनुसार सामाजिक सञ्जाल फेसबुकमा धेरै अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७६ र ०७७ को ६ महिनामा फेसबुकमार्फत अपराध भएका ५४७ वटा निवेदन परेका छन्, जसमा ५२ वटा फेसबुक म्यासेन्जरका छन् । यूट्युबका १२ वटा, इमोका १० वटा, इन्स्टाग्रामका १५ वटा, इमेल ह्याकका १७ वटा, भाइबरका ९ वटा, ह्वाट्स एपका ८ वटा, ट्विटरका ११ वटा निवेदन परेको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top