होमपेज / समाज
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घरमा सहयोगीका रूपमा राखिएका दाङका विजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमबार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको हत्या गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए । प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेका थिए ।
‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् । अनि त्यसपछि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए ।’ यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले डोरीले समातेर मुनालाई घिसारे । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गैर डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।