होमपेज / समाज
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयले इन्जिनियरिङ ल्याब सञ्चालन गर्ने भएको छ । ल्याब भएपछि नेपालगञ्जबाटै निर्माण गुणस्तरको परीक्षण हुनेछ । अहिलेसम्म अख्तियारको ल्याब केन्द्रमा मात्रै रहेको छ । उजुरीको चापलाई हेरेर अख्तियारले नेपालगञ्जमा इन्जिनियरिङ ल्याबका साथै दरबन्दी बढाउने तयारी गरेको हो । अहिले नेपालगञ्जमा २८ जनाको दरबन्दी रहेको छ । त्यसमा अनुसन्धान अधिकृत तीन जनामात्रै छन् । ‘यो जनशक्तिले काम गर्न समस्या भइरहेको छ, अख्तियार सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले भने, यति जनाले स्टिङ अप्रेसन गर्ने कि कार्यालयमा आएका उजुरी अनुसन्धान गर्ने गाह्रो भइरहेको छ ।’
अख्तियारले अब नेपालगञ्जमा ४० जनाको दरबन्दी बनाउँदैंछ । अनुसन्धान अधिकृत र प्राविधिक थप्दैंछ । अनुसन्धान अधिकृतको संख्या कम हुँदा परेका उजुरीमध्येमा धेरै फछ्र्यौट हुन सकेको छैनन् । नेपालगञ्जमा परेका ४ सय ५८ उजुरीमध्येमा एक सय ११ वटामात्रै फछ्र्यौट भएका छन् । ३ सय ४७ वटा उजुरी अनुसन्धानको प्रक्रियामा रहेका छन् । २९औं स्थापना दिवस मनाउने क्रममा पत्रकारसँग भेटघाट कार्यक्रम राखेको नेपालगञ्ज सम्पर्क कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उजुरी बढी आइरहेको जानकारी दिएको छ । स्थानीय तहका उजुरीले अख्तियारको फाइल भरिदैं जाँदा नेपालगञ्जमा नै निर्माण गुणस्तर गर्ने व्यवस्था मिलाउन थालिएको हो ।
कार्यालय प्रमुख गैरेका अनुसार, स्थानीय तहका उपभोक्ता समितिमा आफ्नो मान्छे राखेको, शिक्षक नियुक्तिमा अनियमितता, विकास निर्माण गुणस्तरहीन, लागत स्टेमिट बिना काम भएको, खरिदमा प्रक्रिया नमिलेका, मिलेका पनि नक्कली भरपाईका उजुरी छन् । पछिल्लो समयमा नाता प्रमाणितलगायतका सिफारिस नै गलत दिइएको पाइएको छ । ‘छाप लागेको छ । कार्यालयमा जाँदा रेकर्ड भेटिदैंन, गैरेले भने, नाता प्रमाणित नै गलत सिफारिस गरिएका २÷३ वटा उजुरी आएको छ ।
त्यसको विस्तृत अनुसन्धान गरिरहेका छौं । ५० प्रतिशत उजुरी अनुचित कार्यसँग सम्बन्धित छन् ।’ तपाईहरुले कार्यालयमा उजुरीमात्रै हेरिरहेको हो कि आफै पनि खोज्नु हुन्छ ? अख्तियार नेपालगञ्जका प्रमुख गैरेले आफैले पनि खोजिरहेको बताए । ‘यो चाहिँ सत्य हो कि हामीले अनुसन्धान गरिरहेका उजुरीहरु अधिकांश कार्यालयमा आएका हुन् । हामीले खोजेको थोरै छ, गैरेले भने, ‘तर हामीले आएको उजुरीमात्रै हेर्ने होइन । आफै खोजेका पनि छांै ।’
नेपालगञ्जमा ४ सय ५८ उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा पछिल्लो ६ महिनामा ४ सय ५८ वटा उजुरी परेका छन् । सम्पर्क कार्यालयका सूचना अधिकृत लोकमणि पाण्डेका अनुसार, बाँके, बर्दिया र दाङ जिल्लाबाट ४ सय ५८ वटा उजुरी परेका हुन् । बाँकेमा २ सय १०, दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेका छन् । तीमध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा उजुरी फछ्र्यौट भएका छन् । उजुरीमध्येमा सबैभन्दा बढी संघीयको छ । संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालयले जानकारी दिए ।