ट्रेण्डिङ

होमपेज / समाज

तेस्रो पटक संसद्मा अवरोध

नेपालगाथा २०७६ माघ २७ गते सोमबार १३:५५:११ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसद्को कामकारवाही अगाडि बढ्न सकेनन् । ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आइतबार तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले सदनको काम कारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक–पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए । सभामुखले संवैधानिक व्यवस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले संसद्बाट निरुपण नहुने स्पष्ट पारेका थिए । उनले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए । 

काँग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा काँगेस सांसद दिलेन्द्रप्रसाद बडूले ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो भन्दै आपत्ति जनाएका थिए । प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारवाहीलाई अगाडि बढाउन माग गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top