ट्रेण्डिङ

होमपेज / समाज

चार महिनादेखि उपप्रमुख सम्पर्कविहिन

नेपालगाथा २०७६ माघ ९ गते बिहीबार १४:२६:३६ मा प्रकाशित

सुर्खेत । कालीकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि नगरपालिकाबाट सम्पर्कबिहिन भएकी छन् । असोज महिनामा काठमाडौं जान भनि हिडेकी उपप्रमुख नेपाली त्यस यता नगरपालिकाका फर्केकी छैनन् । उनी सम्पर्कविहिन हुँदा दैनिक काम काजमा समेत असर परेको छ । उपप्रमुख नेपाली असोज महिनामा काठमाडौं जान लागेको नकारी दिएको तर त्यस यता सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘असोज महिनामा काठमाडौं जाने भनेर मलाई जानकारी दिनु भएको थियो ।,’ उनले भने, ‘अहिलेसम्म कता हुनुहुन्छ कुनै जानकारी पाएका छैनौं ।’

उपप्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परेको प्रमुख शाहीले बताए । ‘जनताका काम दैनिक रुपमा गर्नुपर्छ । उहाँ केही समितिको प्रमुख हुनुहुन्छ ।’ उनले भने, ‘उपप्रमुख नहुँदा समितिका काम प्रभावित भएका छन् ।’ नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको संयोजक रहेको अहिले यी कामहरु अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । ‘उपप्रमुख नहुँदा योजना कार्यान्वयनमा समेत समस्या परेको छ ।’ उनले भने, ‘उहाँ संयोजक रहेका सबै समिति अलपत्र जस्तै छन् ।’

योजना अनुगमन समितिको संयोजक उपप्रमुख नै रहेका कारणले अहिले नगरपालिकाभित्रका कार्य सम्पन्न भएका योजनाको भुक्तानीमासमेत समस्या भएको नगर प्रमुख शाहीले बताए । उपप्रमुख नेपाली विदेश जान लागेको आफुले गाइँगुँई सुनेपछि बोलाएर छलफल गरेको कालीकोटका प्रतिनिधि सभाका सांसद दुर्गबहादुर रावतले बताए । ‘उपप्रमुख विदेश जाने कुरा सुनेपछि मैले बोलाएर उहाँसँग छलफल गरेको थिए ।’ उनले भने,‘त्यो बेला हल्ला मात्र भएको उहाँले मलाई बताउनु भयो ।’

मैले विदेश जाने भए राजीनामा दिएर जानुहोस भनेर पनि सुझाव दिएको सांसद रावतले बताए । ‘विदेश गएर लामो समय बस्ने भए बस्ने भए उपप्रमुखबाट राजिनामा दिएर जानुहोस भनेको थिए ।’ उनले भने, ‘मैले भनेको कुरा उहाँले नकार्नुभयो ।’ सामाजिक संजालमा नेपालीले सार्वजनिक गरेको तस्वीरका आधारमा उहाँ अमेरिका गएको आंशका गरिएको छ । तर, उहाँ सामाजिक संजालमा सम्पर्क गर्दा केही जवाफ नफर्काउने गरेका कारणले उनी कहाँ छिन एकिन भन्न सकिने अवस्था नरहेको नगर प्रमुख शाहीले बताए । ‘सम्पर्कका लागि धेरै प्रयास गर्दा पनि उहाँले जवाफ फर्काउनु भएन् ।’ उनले भने, ‘अहिले कहाँ हुनुहुन्छ एकिन भन्न सकिदैँन् ।’

स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धिको आदेश, २०७४ को दफा ९ को उपदफा ३४ मा नगरपालिका प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो नगरपालिका क्षेत्र छाडी बाहिर जानुपर्दा उपप्रमुखलाई कार्यभार सुम्पी जानुपर्नेछ भनी उल्लेख भएको उपप्रमुखका बिषयमा कुनै बुँदा नसमेटिएका कारणले पनि समस्या भएको नगर प्रमुख शाहीले बताए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट एक हजार ४३ मत ल्याएर उनी विजयी भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top