होमपेज / समाज

सुर्खेत जेल ब्रेकका १८ वर्ष  हिउँदे झरीले सफल पारेको त्यो क्षण !

नेपालगाथा २०७६ माघ २ गते बिहीबार १४:१०:३६ मा प्रकाशित

सुर्खेत । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूले सुर्खेतको जेल ब्रेक गरेको आज १८ वर्ष पूरा भएको छ । २०५८ साल माघ २ गते आजकै दिन राजनीतिक आस्थाका आधारमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का १५ जना  नेताहरू र १५ जना अन्य मुद्दामा जेल परेका गरेर ३० जनाले जेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई छलेर जेल ब्रेक गरेका थिए । क्रान्तिकारीका केन्द्रीय सदस्य तथा हालको नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सहइन्चार्ज झकबहादुर मल्ल ‘सुदिप’ को नेतृत्वमा उक्त जेल ब्रेक भएको थियो । 

‘२०५६ साल फागुन १८ गते सुर्खेतको खजुराबाट गिरफ्तार भयौं ।’ सुर्खेत जेल ब्रेकका कमाण्डर मल्लले भने, ‘संलग्न अक्कल रावल र कृष्ण बडुवाल खजुरामा कोठा लिएर सुर्खेत शिक्षा क्याम्पसमा पढ्दैं थिए । दैलेखमा संगठनको क्षेत्रीय भेला सकेर आएका देविराम देवकोटा र लोकजंग शाही सुर्खेत जिल्लाको विद्यार्थी सम्मेलनमा भाग लिन आएका मौकामा उक्त कोठामा पुगे । संगठनको गतिविधिका बारेमा सल्लाह गर्न गणेश भण्डारी पनि सोही कोठामा आएका थिए । 

रातिको पौने ९ बजे कृष्ण बडुवाल खाना पकाउँदैं थिए । त्यहीबेला २÷३ जना सुरक्षाकर्मी उक्त कोठामा पेस्तोल ताक्दै पसे । अनी सबैजनालाई खाना खान नदिएरै प्रहरीले गिरफ्तार गरेर लग्यो ।’ सबैजनालाई प्रहरीले धरपकट गर्दै हातमा हत्कडी लगाएर आफ्नो भ्यानमा जिल्ला प्रहरी कार्यालय सुर्खेत लग्यो । २४ दिनसम्म विभिन्न सोधपुछका नाममा जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखेका उनीहरूलाई २५औं दिनमा राज्यविरुद्धको मुद्दामा कारागार पाठाएको थियो । सुर्खेतका गोपाल शर्मालाई राजनीतिक आस्थाकै आधारमा त्यस अघि नै कारागार चलान गरिएको थियो ।

भने २०५७ सालको विभिन्न मितिमा राजनीतिक आस्थाकै आधारमा विद्यार्थी नेताहरु झकबहादुर मल्ल, बिन्दमान बिष्ट, रामबहादुर रसाईली, विष्णुप्रसाद चौधरी, दलबहादुर घर्ती मगर (विकास गुरुङ), कलाकार पुष्प चौधरी, सुर्खेत पश्चिमका नवराज खड्का, रविन्द्र बयक, उपेन्द्र बिकलगायतलाई प्रहरीले गिरफ्तार ग¥यो । प्रहरी प्रशासनले डोल्पाका लोकबहादुर चलाउने ‘बबरस्टार’लाई जाजरकोटबाट गिरफ्तार गरी सुर्खेत कारागार पठाइएको थियो । 

यसरी बन्यो जेल ब्रेकको योजना
व्यवस्था परिवर्तनको अभियानसहित भूमिगत राजनीतिमा संलग्न भएकै आधारमा तत्कालीन सरकारले नियन्त्रणमा लिएर लामो समय जेलमै राख्ने भएपछि सबैजना नेताहरूलाई जेलबाट मुक्त हुने उपायमै कयौं दिन खर्चीय । देशका सबै क्षेत्रमा आफ्ना विद्रोही गतिविधिलाई तीब्रता दिदैं आएको मोावादीका कार्यकर्ताका लागि जेलबाट बाहिर निस्किने सहज बाटो छैन भन्नेमा स्वयम् उनीहरु आफै प्रष्ट थिए ।

१५ देखि २२ वर्षको उमेर समूहका युवाहरूले जेलमा आफू एक्लैले जेलबाट मुक्त हुने उपाय नहुने निचोडमा पुगेका उनीहरूले अन्ततः अन्य मुद्दामा जेल जीवन बिताइरहेकाहरूसँगको सहकार्य एवम् संगठित हुने कुरालाई आवश्यक ठाने । तर त्यसको शुरुवात राजनीतिक आस्थाका बन्दीहरूकै एकमत गर्नु जेल ब्रेकको पहिलो कदम थियो । जेलमा खाने बस्नेदेखि हरेक कामहरू समूहमै गर्न हुन थाले । त्यसको केही दिनमै जेलभित्र पार्टीगत संरचनाको निर्माण भयोे । उक्त संरचनाको नियमित हुने बैठक र छलफलको प्रमुख विषय जेल ब्रेक नै बन्न थाल्यो । त्यो सबै योजनाको नेतृत्व झकबहादुर मल्ल ‘सुदिप’ले गरे ।

जेलभित्रको संगठनले उनलाई जेल भित्रको कमाण्डर बनायो । हरेक दिन र क्षणको अत्यास लाग्दो जेल जीवनलाई जतिसक्यो छोटो बनाउने ध्येयका साथ जेलभित्रै अनशन शुरु भयो । विस्तारै राजनीतिक आस्थाका बन्दीहरूकै नेतृत्वमा आन्दोलन भयो । नियतवस कतिपय कैदी बन्दीहरूलाई कुट्न शुरुभयो भने कतिले कुटाइ खाए । जेल भित्रको पुलिस प्रशासनसँग मुडभेड गरे । त्यसबीचमा उनीहरूका कतिपय मागहरू पूरा पनि भए । आन्दोलनले पुस्तकालय स्थापना भयो । सबै खाले पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्न, रेडियो सुन्ने, क्यारमबोर्ड, टेबलटेनिस, भलिबल खेल्न पाइने वातावरण तयार भयो । त्यतिमात्र होइन, सीपमूलक कामहरू सिकाउने वातावरण बन्यो ।

कतिपयले टोपी, स्वेटर बनाउने काम सिके । बिरामी भए उपचार गर्ने वातावरण बन्यो । जसले अन्य कैदीहरूको मन जित्न सहजीकरणको काम ग¥यो । कारागारबाट भाग्ने एउटै उद्देश्यका साथ भएका सबै गतिविधि सकारात्मक बनेपछि जेल ब्रेकका थुप्रै विकल्पको खाोजी गरियो । प्राय विकल्पको योजना कमाण्डर मल्लले नै प्रस्ताव गर्थे । सबै अघिका विकल्प विफल भएपछि कात्तिक महिनाको दोस्रो साता एकदिन आस्थाका बन्दीको बैठक बस्यो ।

जसमा सुरुङ्ग खनेर जेल तोड्ने योजना मल्लले सुनाए तर कतिपयलाई त्यो असम्भव र अपत्यारिलो लाग्यो । तर कमाण्डरले ‘यो योजना सफल पारेरै छोड्ने हो,’ भनेपछि, सुरुङ्ग कसरी खन्ने ? केले खन्ने ? माटो कहाँ राख्ने ? सुरुङ्ग कहाँबाट खन्ने ? कारागारमा रहेका अन्य बन्दीले सहयोग गर्लान् वा नगर्लान् भन्ने बहसले कात्तिक २३ लाई सुरुङ खन्ने पहिलो मिति तय भयो । 

कसरी खनियो सुरुङ ?
२०५८ साल कात्तिक २३ गतेदेखि जेलभित्र सुरुङ्ग खन्न  शुरु भयो । योजना अनुसार रामबहादुर रसाईली र गोपाल शर्मा सुरुङ्ग खन्ने कमाण्डर बने । देविराम देवकोटालगायतकाले जेलको मूलगेट र प्रहरीको सेन्ट्री पोष्टको दिनभर सेन्ट्री गर्ने कामको विभाजन भयो । जेलभित्रका ५० जना बन्दीमध्ये अन्य मुद्दाका हरेक एक बन्दीलाई आस्थाका एक बन्दीले साथी बनाएर आफ्नो अभियानको समर्थन जुटाउने काम शुरु भयो । जसअनुसार कारागारमा भएका बन्दीमध्ये २० जनाबाहेक ३० जना (१५ आस्थाका र १५ गैरआस्थाका बन्दी) सुरुङ्ग खनेर भाग्ने योजनामा प्रतिबद्ध भए । 

जेलब्रेक योेजनाका कमाण्डर मल्लले जेलमै एकजना छारे रोगी सुत्ने कोठाबाट सुरुङ्ग खन्ने, टेबलटेनिस खेल्ने बोर्ड बनाउँदा लुकाईएको फलामे रड आगोमा पोलेर तिखो बनाउने र त्यसैले सुरुङ्ग खन्ने, माटो सिलिङमा राख्ने, केही माटो सिमेन्टमाथि खटिया बनाउन प्रयोग गर्ने गरी राति सुरुङ खन्ने कामले गति लियो । कतिपय माटो फोहोर फाल्ने निहुँमा हरीको आँखा छल्दै करेसाबारीमा लगेर फाल्ने, करेसाबारी बनाउने र माटोको व्यवस्थापन गर्ने योजनामा छारे रोगी सहमत भए । जसअनुसार राति सुरुङ्ग खन्न बेडलाई कोठाको एक छेउतिर सारिन्थ्यो ।

जब उज्यालो हुन्थ्यो सुरुङ्गको प्वाल सेप्टीट्याड्कीले छोप्दै त्यसमाथि उनको बेड सारिन्थ्यो र उनलाई सुत्न लगाइन्थ्यो । सुरुङ्ग खन्ने कमाण्डरको निर्देशन अनुसार अन्यले सुरुङ्ग खन्ने काममा सहयोग गर्नुपथ्र्यो । जसमा गैर आस्थाका बन्दीहरू बढी खटिन्थे । राजनैतिक आस्थाका बन्दीहरूलाई संवेदनशील काम सेन्ट्रि गर्ने, बाह्य वातावरण र प्रशासनको अवस्था बारे जानकारी गर्नेमा केन्द्रित गरिएको थियो । 

खन्दै गएको सुरुङ्गको लम्बाई ११ मिटर (३२ फिट) पुग्यो । सुरुङ्ग खन्ने काम पूरा हुँनै लाग्दा माओवादी जनसेनाले २०५८ साल मंसिर ८ गते दाङमा पहिलो पटक तत्कालीन शाही नेपाली सेनामाथि आक्रमण ग¥यो । त्यसको केही दिन अर्थात् मंसिर ११ गतेदेखि देशमा संकटकाल लाग्यो । त्यसको असर जेल ब्रेकमा पनि प¥यो । पहिला ३ वटा सुरक्षा पोष्ट भएको जेलमा पछि २ थपेर ५ बनाइयो । जसमध्येको एक सुरुङको निकास निकाल्ने भनिएको ठाउँबाट १ सय मिटरमा थियो । त्यो पोष्टमा सेनाले दिनरात पहरा दिन्थ्यो । पानी परेमा सेनाको अस्थाई पोष्टमा कोही बस्न नसक्ने दिनलाई सुर्खेत जेल ब्रेकको दिनका रुपमा स्थापित गर्ने पर्खाइमा सबै बन्दीहरू थिए ।  

जेलब्रेक 
सालको मंसिरको दोस्रो सातादेखि कैदी बन्दीहरूले  वर्षासँगै आफ्नो उद्देश्य पूरा गर्ने अवसर कुरे पनि त्यो अवसर जुरेको थिएन । २०५८ साल माघ १ गते मात्रै आकाशमा बादल लाग्यो । तर सुर्खेतका कैदी बन्दीको मनमा भने निकै खुशी छाएको थियो । पूर्ववत् योजनामा दिनभर भाग्ने समयको प्रतीक्षामा उनीहरूले राती जेल ब्रेक गर्ने निधो गरे । झरी रिरहेका थियो । खाना खाएर सबै बन्दीलाई सुरक्षाकर्मीले खाना खाएपछि सबैलाई  कारागारभित्रको भवनमा कैद गरे ।

लगत्तै सुरुङ्ग खन्ने कमाण्डर र अन्य केहीले राति १० बजेपछि सुरुङ्गको मुख खोल्ने काम थाले । सुरुङको मुख खोल्ने काम रातको १२ बजे सकियो । पानी जोडले परिरहेको थियो । त्यसपछि ३० जना बन्दीले भाग्ने अन्तिम तयारी गरे । सुरुङ्गमा छिर्नै लाग्दा जेलका नाईके पूर्णबहादुरले लफडा गरे । उनले प्रहरीलाई भनिदिने भन्दै कराउन थाले । आफूसँग भएको पैसा, चामल, सिरक र डसना उपहार दिएर भए पनि सबै लागेर फकाएपछि उनले सहमति जनाए । त्यसपछि ५० जना बन्दी मध्येका ३० जना बन्दीले चर्चित सुर्खेत जेल ब्रेकको इतिहाँस कायम गर्दै आफ्नो योजना सफल पारे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top