होमपेज / समाज

‘भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती’

नेपाल गाथा २०७६ माघ २ गते बिहीबार १३:१७:२१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवम् विभिन्न जातजातिका भेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर संघद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्राहालयको बुधबार शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभूषाको प्रयोग गर्नुपर्ने बताएका हुन् । मुख्यमन्त्री शाहीले मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

राजनीतिक आन्दोलन समाप्त भएको भन्दै उनले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । ‘मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले गर्दैनन्, तपाईंहरु आफँैले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ ।’, उनले भने, ‘भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।’ बजेट अभावकै कारण सङ्ग्राहालय निर्माणमा अवरोध नहुने मुख्यमन्त्री शाहीले बताए । ‘बहुउद्देश्यीय प्रकृतिको दीर्घकालीन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिँदैन’, शाहीले भने । 

मगर सङ्घका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गरेको दुई कठ्ठा जग्गामा तीन करोड ६८ लाख ६८ हजार रुपैयाँ लागतमा संङग्राहालय निर्माण शुरु गरिएको छ । निर्माण समितिका संयोजक आशुराम सोमै मगरले प्रदेश सरकारले ७५ लाख रुपैयाँ, सुर्खेतका सांसद नवराज रावतले १० लाख रुपैयाँ र मगर समुदायबाट चन्दा सहयोग गरी करीब एक करोड ५० लाख रुपैयाँ सङ्कलन भएको बताए । विद्युतीय भ¥याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर सङ्ग्राहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, संघअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजाकक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गादाता जहरसिंह थापाको अर्धकदको प्रतीमा राखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top