होमपेज / समाज

नानकलाको दाजु बचाउने सपना अधुरै

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २३:००:३० मा प्रकाशित

सुर्खेत । आफनो शरीरको माया कसलाई पो लाग्दैन र ? तर समाजमा आफ्नोभन्दा आफन्तको शरीरको माया गर्ने उदाहरण भेटिन्छन् । यस्तै उदाहरणकी पात्र हुनु १९ वर्षीया नानकला शर्मा । बोनम्यारो समस्या पींडित दाई डिलप्रकाश शर्माको जीवन बचाउन उनी आफ्नो ज्यान जोखिममा राख्न तयार भइन् तर, बिडम्बना उनको सपना अधुरै रह्यो । 
सुखद् समाचारको प्रतिक्षामा रहेकी १९ वर्षीया नानकलाको लागि कात्तिक २८ गते ठूलो ब्रजपात आइलाग्यो । मृत्युसँग जुँधिरहेका दाजु डिलप्रकाशका लागि उनी जोखिम मोलेर आफ्नो बोनम्यारो निकाल्न सहर्ष तयार भइन् । तर दाजु बचाउने उनको सपना अधुरै रह्यो । नानकला सुर्खेतको नेवारेमा रहेको अमरज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।
सुर्खेतका सक्रिय पत्रकार डिलप्रकाशको बोनम्यारो प्रत्यारोपणको क्रममा काठमाडौँस्थित सिभिल अस्पतालमा  बिहीबार निधन भएको छ । २३ वर्षीय शर्मा बोनम्यारो प्रत्यारोपणका लागि कात्तिकको पहिलो साता अस्पतालमा भर्ना भएका थिए । सात महिनाअघि उपचारका लागि भारतको अहमदाबाद पुगेका शर्माको उपचारको क्रममा भारतमै बोनम्यारो समस्या रहेको पत्ता लागेको थियो । 
आर्थिक अभावका कारण भारतमा उपचार सम्भव नभएपछि फर्केर उनी काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका थिए । जनशक्ति र साधन श्रोतको अभावमा बोनम्यारो प्रत्यारोपणमा सिभिल अस्पतालमा लामो समयदेखि पालो कुर्नुपर्ने बाध्यता शर्मालाई आइलाग्यो । बोनम्यारो दाता आफ्नी बहिनी नानकलाको सम्पूर्ण स्वास्थ्य परीक्षणपछि शर्माको बिहीबार प्रत्यारोपणको पालो थियो । बिहानै बहिनी नानकलाको बोनम्यारो निकालेर प्रत्यारोपण गर्न डिलप्रकाशलाई डाक्टरले तयार पार्दे थिए तर, बिडम्बना उनी बोनम्यारो नचाहिने गरि सदाका लागि अस्ताए । नेपालकै एकमात्र बोनम्यारो प्रयारोपण विशेषज्ञ डाक्टर विशेष पौडेलले उनलाई बचाउन नसकेकोमा क्षमा माग्दै भने, ‘माफ गर्नुहोला जीवनमा सबैभन्दा दुःखी छु आज ।’
सानै उमेरमा सक्रिय पत्रकारितामार्फत् अलग पहिचान बनाएका डिलप्रकाशले बोनम्यारोको समस्या भएको थाहा पाएपछि आफू स्वस्थ्य भएर फेरि सक्रिय पत्रकारितामा फर्कने इच्छा गरेका थिए । स्वस्थ्य त उनी भएनन् नै । कहिल्यै नर्फकने गरि बिदा भए । 
यसैबीच शर्माको बिहिबार राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top