होमपेज / समाज

कलाकारसँगै नाँचे सुर्खेती

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २२:४९:०१ मा प्रकाशित

सुर्खेत । बिहीबार साँझ वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदान दर्शकले निकै खचाखच भरिएको थियो । खुल्ला मैदान वरिपरि झिलिमिली सिँगारिएको थियो । मैदानको उत्तरतिरको एक भागमा स्टेज बनाइएको थियो । उक्त भव्य मञ्चमा कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति राखिरहेका थिए । दर्शकले कलाकारलाई उत्साह थपिरहेका थिए । कलाकारसँगै दर्शकले पनि स्वरमा स्वर मिलाइरहेका थिए । 
अँधेरी रातसँगै चिसो चिसो मौसम बढ्दै थियो । स्टेज झनै तातिदैँ थियो । कलाकारहरुले गितसँगै सबैलाई नचाइरहेका थिए । राष्ट्रियस्तरका चर्चित कलाकार रहेको उक्त स्टेजमा सबै खाले गितहरु बजिरहेका थिए । 
कलाकारहरुले सुदूर र मध्यपश्चिमका देउडा भाका, लोक गित, पप गित, पूर्वेली भाकाहरु, हाँस्यव्यंग्य, झ्याउरे तथा विभिन्न खालका आधुनिक गितहरु गाइरहेका थिए । दर्शकहरु कोही उफ्रिरहेका थिए, कोही नाँचिरहेका थिए । कोही मोबाईल मार्फत भिडियो खिच्न व्यस्त थिए । 


नजिकै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाल सिनेमा क्षेत्रका महानायक राजेश हमाल कर्णाली प्रदेशका अन्य मन्त्रीहरु, सुरक्षा नियका प्रमुखहरु लगायत अन्य विभिन्न क्षेत्रका मानिसहरुले हेरिरहेका थिए । 
शान्ति र सद्भावका लागि सप्तरङ्ग यात्राअन्तर्गत भएको कार्यक्रममा  महानायक राजेश हमालसहित हाँस्यकलाकार जितु नेपाल, गायक सुगम पोखरेल, लोकगायक प्रकाश सपुत, गायिका मेलिना राई, गायक हिमाल सागर र नेपाल आईडल दोस्रोका विजेता रवि ओडले स्टेज तताइरहेको थिए । 
गृष्मा ब्रोडकास्टिङ नेपालको आयोजना तथा काफिया मिडिया सेन्टर नेपाल सुर्खेतको संयोजनमा पर्यटन वर्ष २०२० लाई सफल पार्न तथा नेपाल र नेपाली बीचको एकता, सद्भाव फैलाउने मुख्य उद्देश्यसहित कार्यक्रम गरिएको आयोजकले बताएको छ । 
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृष्मा ब्रोडकास्टिङ नेपाललाई धन्यवाद दिँदै सप्तरङ्ग यात्राले कर्णालीमा कला संस्कृतिको विकासमा सहयोग पुग्ने बताए । 
यस्तै महानायक राजेश हमालले नेपाल र नेपाली बीचको एकता सद्भाव सधै फैलाउनको लागि सप्तरङ्गको यात्रा सुरु गरिएको बताए । यात्राको क्रममा कर्णाली आउँदा झनै उत्साह थपिएको बताए । 
यही ३० गते  महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुगेर कार्यक्रम सप्तरङ्ग यात्रा सम्पन्न हुने गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top