होमपेज / समाज

दुईपदमा आठ जनाको उम्मेदवारी

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २०:४८:४९ मा प्रकाशित

सुर्खेत । 
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । खार्पुनाथ गाउँपालिका हुम्लाको उपाध्यक्ष पदमा तीन र सल्यानको कुमाख गाउँपालिका ५ को वडाअध्यक्ष पदमा ५ जनाको उम्मेरदारी परेको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जानकारी दिएका छन् । 
हुम्लाको खार्पुनाथ गाउँपालिकामा रिक्त उपाध्यक्ष पदमानेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट रुपमा शाही, नेपाली कांग्रेसको तर्फबाट ताराकुमारी शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको तर्फबाट दीपविक्रम शाहीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले  निर्वाचन जानकारी दिए । 
सांस्कृतिक कार्यक्रम, झाँकी र पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय यांचु बगरमा पुगेका तीनै जना उम्मेदवारले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 
यस्तै वडाअध्यक्ष रिक्त रहेको सल्यानको कुमाख गाउँपालिका ५ मा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस कुलप्रसाद पाण्डेले जानकारी दिए । उनकाअनुसार उम्मेदवारी दिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी, नेपाली कांग्रेसका खड्गबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै स्वतन्त्रबाट चित्र प्रकाश गिरी र दलवीर बस्नेतले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागे चौरले जनाएको छ ।
हुम्ला र सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले उम्मेदवारी दिनका लागि निर्धारण गरेको  समय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तेकिएकै समय सीमामा सबै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएको जानकारी दिएका छन् । 
गत जेठ ३ गते सिमकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप दुर्घटना भई कर्णाली नदीमा खसेर ज्यान गएकी सोही गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएर उपाध्यक्ष पद रिक्त रहेको थियो । भने सल्यानको कुमाख गाउँपालिका ५ का वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितीका उपप्रमुख भएपछि त्यहाँ वडा अध्यक्ष पदरिक्त रहेको थियो । 
संघीय समाजवादीले समर्थक पाएन
उम्मेदवारी दिन आवश्यक प्रस्तावक र समर्थक नपाएपछि संघीय समाजवादी पार्टीले हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न पाएको छैन । एक साताअघि नै जिल्ला पार्टीबाट सर्वसम्मत टिकट पाएका लिला जेठाराले मनोनयन दर्ता गर्ने प्रस्तावक र सर्मथक नपाएपछि आज गर्ने भनिएको मनानयन गर्न नपाएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top