होमपेज / समाज

सकारात्मक प्रयास

नेपाल गाथा २०७६ कार्तिक २८ गते बिहीबार २०:२०:३३ मा प्रकाशित

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय संस्था बालकोषले हालै निकालेको एक प्रतिवेदनअनुसार संसारमै बालविवाह दर उच्च भएको मुलुकमा नेपाल १७औं स्थानमा पर्छ । यो हिसाबले नेपाल बालबिवाह हुने उच्च मुलुकमा पर्दछ । बालकोषको प्रतिवेदनका अनुसार नेपालका ४० प्रतिशत बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । जनसांख्यिक तथा प्रजजन स्वास्थ्यका आधारमा २० वर्षलाई विवाह योग्य उमेर मानिए पनि हाम्रो समाजमा अझै यो अवधारणालाई लागू गर्न सकिएको छैन । विद्यमान कानूनको विवाह सम्बन्धी महलमा २० वर्षअघिको विवाहलाई कानूनी मान्यता दिइएको छैन । तर पनि  कानूनलाई नै चुनौती दिँदै बालविवाह रोकिएका छैनन् । अशिक्षा, गरिबी र चेतनाको अभावको कारण सानै उमेरमा  विहे गर्ने प्रचलन बढ्दो छ । अझ कर्णालीमा नेपालको औसत प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको पाइन्छ । पछिल्ला तथ्याङ्कअनुसार कर्णालीमा ५२ प्रतिशत भन्दा बढी बालिकाको उमेर नपुग्दै विवाह हुन्छ । 
गरिबीदेखि महिलामाथि हुने हिंसा र परम्परासमेत अनेकौं कारणले नेपालमा बालविवाह यति उच्च रहेको मानिन्छ । बालविवाहका कारण बालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ । शैक्षिकलगायत व्यक्तित्व विकासमा बाधा पुग्छ र त्यसको असर जीवनस्तरमै पर्न जान्छ । यसैले विश्वभर नै विशेषगरी बालविवाह दर उच्च भएका समाजमा यसलाई रोक्न अभियान नै चलाइएको छ । नेपालमा पनि बालविवाह न्यूनीकरणमा धेरै पहलहरु भएका छन् । एकातिर कानूनले बालविवाहमा कडाई गरेको छ भने अर्कोे तर्फ सरकारी र गैरसरकारी संस्थाका तर्फबाट अभियानको रुपमा बालविवाह न्यूनीकरणमा पहलहरु भइरहेका छन् । पछिल्लो समय कर्णालीमा नेपाल प्रहरीले पुरोहितहरुलाई प्रशिक्षण र सचेतना कार्यक्रम आयोजना गरेर बाल न्यूनीकरणमा सकारात्मक प्रयासको थालनी गरेको छ । कर्णाली प्रदेश प्रहरीको आयोजनामा हालै प्रदेशका दशै वटा जिल्लामा एकै पुरोहितहरुलाई सचेतना दिइएको र ती सचेतना कार्यक्रमहरुमा साढे चार सयभन्दा बढीको पुरोहितहरु सहभागी रहेको विवरणहरु सार्वजनिक भएको छ । हाम्रो समाज अझै पनि धार्मिक रिति रिवाजबाट निर्देशित छ । विवाह कर्मको लागि अधिकांशले पुरोहितहरुको सहारा लिने परम्परागत मान्यता छ । पुरोहितको संलग्नता बिना विवाह कर्म नचल्ने परम्परागत मान्यताले गर्दा पनि विवाहमा पुरोहितको महत्वपूर्ण भूमिका हुन्छ । पुरोहितले आवश्यक उमेर सोधेर मात्र विवाहमा गराउन तयार भइदिने हो भने मात्र पनि धेरै बालविवाह रोकिन्छन् । 
नेपाल प्रहरीले कर्णालीमा बालविवाह न्यूनीकरणका लािग गरेको सचेतनाले दश जिल्लाका पुरोहितहरुलाई बालविवाह रोक्न अभिप्रेरणा जगाएको छ । धार्मिक महत्वको कारण पनि सानै उमेरमा विवाह गर्दा पुण्य कमाइन्छ भन्ने परम्परागत मान्यताले पनि बालविवाह न्यूनीकरणमा बाधा उत्पन्न गराउँदै आएको पाइन्छ । कानूनी रुपमा नै बालविवाह गलत हो भन्ने सन्देश प्रवाह नहुँदासम्म यसको न्यूनीकरणमा धेरै समस्याहरु थिए । प्रहरीले विवाहमा संलग्न हुने महत्वपूर्ण पक्ष पुरोहितलाई उमेर नपुग्दै विवाह गरे कानूनी र सामाजिक झमेला हुने सन्देश प्रवाह गरेर उनीहरुलाई अझ सचेत गराएको छ । 
 प्रहरीले शुरु गरेको बालविवाह न्यूनीकरणको यो अभियानमा कर्णालीका धेरै जसो जिल्लामा अब नागरिकता हेरेर मात्र विवाह कर्म चलाउने पुरोहितहरुले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । पुरोहित स्वयम्बाट आएको प्रतिवद्धताले कानून विपरीत बालविवाहमा संलग्न हुनेलाई नियन्त्रण गर्ने अपेक्षा गर्न सकिन्छ । बालविवाह समाजको सबैभन्दा डर लाग्दो रोग हो ।  नेपाल प्रहरी एक्लैले मात्र यसको न्यूनीकरण सम्भव छैन । प्रहरीले थालेको सेचतना अभियान सकारात्मक छ । सकारात्मक अभियानलाई आफनो ठाँउबाट सहयोग गरौँ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top