ट्रेण्डिङ

होमपेज / समाज

शान्ति र सद्भावका लागि सांगेतिक कार्यक्रम आज सुर्खेतमा

नेपालगाथा २०७६ कार्तिक २८ गते बिहीबार १२:५४:०१ मा प्रकाशित

सुर्खेत । शान्ति र सद्भावका लागि सप्तरङ्ग यात्राअन्तर्गत कलाकारहरु बुधबार सुर्खेत आइपुगेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न तथा नेपाल र नेपालीबीचको एकता, सद्भाव फैलाउने मुख्य उद्देश्यसहित सात प्रदेश यात्राको क्रममा चर्चित कलाकारहरु सुर्खेत आइपुगेका हुन् । बुधबार महानायक राजेश हमालसहितको सात जना कलाकारको टोली सुर्खेत आइपुगेको हो । कलाकारहरुले पत्रकार भेटघाट कार्यक्रममा कला र संस्कृतिले भरिएको सुर्खेतमा आउँदा एकदमै उत्साह थपिएको बताए ।

महानायक राजेश हमालले प्रादेशिक संरचनापछि कर्णालीको कला र संस्कृतिका साथै राजनीतिक, सामाजिक, आर्थिक परिवेश नियाल्ने मौका पाएको बताए । कलाकारहरुले बिहीबार वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदानमा आआफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रममा महानायक राजेश हमालसहित हाँस्य कलाकार जितु नेपाल, गायक सुगम पोखरेल, लोकगायक प्रकाश सपुत, गायिका मेलीना राई र नेपाल आईडल दोस्रोका विजेता रवि ओडको प्रस्तुति रहनेछ ।

सप्तरंगमार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा एकता, सद्भाव, सचेतना फैलाउने कार्यक्रम रहेको गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए । कात्तिक २० गते प्रदेश नम्बर १ झापाको बिर्तामोडबाट कला र संस्कृतिको उजागर गर्दै सुरु गरिएको सप्तरंग यात्रा कात्तिक २२ गते वीरगन्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज हुँदै आज २८ गते सुर्खेत आइपुगेको हो । यसैगरी कात्तिक ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुगेर यात्रा समापन हुने अध्यक्ष घिमिरेले बताए । कार्यक्रमलाई स्थानीयस्तरमा काफिया मिडिया सेन्टरले संयोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top