ट्रेण्डिङ

होमपेज / समाज

देशभर चिसो वृद्धि 

नेपालगाथा २०७६ कार्तिक २७ गते बुधबार ११:५२:०१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै मंगलबारदेखि बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । 

‘सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ’, मौसमविद् श्रेष्ठले भने । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै मंगलबार सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top