होमपेज / समाज

स्थानीय सरकारलाई मन्त्री अर्यालको आग्रह

​​​​​​​ कृषि र सहकारीमा पनि ध्यान दिनुस् 

नेपाल गाथा २०७६ कार्तिक २१ गते बिहीबार १६:१९:२९ मा प्रकाशित

सुर्खेत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्थानीय सरकारलाई विकासको नाममा बाटो, घाटो, खानेपानी आयोजनामा मात्रै नभएर कृषि सहकारीतिर पनि ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन् । बुधबार वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले स्थानीय सरकारको समृद्धिको माध्यम सहकारी बन्न सक्ने भएकाले कृषि सहकारीलाई प्राथमिकतामा राखेर प्रर्याप्त बजेट छुट्याउन आग्रह गरिन् । साथै उनले स्थानीय सरकारले हरेक योजना बनाउँदा सहकारीसँग जोडेर बनाउनुपर्नेमा जोड दिइन् ।  

सहकारी क्षेत्रमा समस्याहरु धेरै  रहेको बताउँदै मन्त्री अर्यालले ती समस्याहरु समाधान गर्न नसक्ने हो भने सहकारी क्षेत्रमा लागेका व्यक्तिहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउने बताइन् । उनले स्थानीय तहको सरकारलाई सहकारी क्षेत्रमा रहेका समस्याहरु समयमै समाधान गर्न सुझाव पनि दिइन् । संघीय सरकारले मात्र सहकारी संघ संस्थाको नियमन र अनुगमन गर्न नसक्ने बताउँदै मन्त्री अर्यालले स्थानीय सरकारले पनि सहकारीका क्षेत्रलाई व्यवस्थित गर्न लाग्नुपर्नेमा जोड दिइन् । स्थानीय तहका जनप्रनिधिहरुलाई विकास निर्माणको नाममा ‘कपि राईट’ नगर्न तथा टिकाउ र विकाउसहितको दीर्घकालिन योजनासहित अघि बढ्न उनले आग्रह गरिन् ।

यस्तै कर्णाली प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णालीमा भूमिको समस्या रहेको बताए । उनले भने, ‘मन्त्रालयको नाममा मात्रै भूमि जोडिएको छ । नियमनको काम केन्द्र सरकारले नै गरिरहेको कारण प्रदेश मन्त्रालयबाट केही पनि गर्न सकिएको छैन ।’ यस्तै सहकारी विभागका रजिष्ट्रार डा. टोपराज पाण्डेले स्थानीय तहमा सहकारीका क्षेत्रमा काम गर्ने प्रर्याप्त दक्ष जनशक्ति नहुँदा स्थानीय तहबाट सहकारीको क्षेत्रमा उल्लेखनीय काम हुन नसकेको बताए । कार्यक्रममा स्थानीय तहमा सहकारी सञ्चालनमा देखिएका जटिलताहरुको विषयमा छलफल गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top