होमपेज / समाज

वीरेन्द्रनगरमा कुकुर आतंक

नेपाल गाथा २०७६ कार्तिक २१ गते बिहीबार १६:१०:३७ मा प्रकाशित

चन्द्रा कँडेल, सुर्खेत । ‘राति हिंडेको भेटे मारुला जत्तिकै झम्टन्छन् ।’ ‘हाम्रो टोलमा साँझपख बाइक देख्यो कि कुकुरले पछाडी झम्टेर पछारुला जत्तिकै गर्छन् ।’

भैरवस्थान सुर्खेतका कृष्ण वली र पिपिरा सुर्खेतका उमेश चपाइँले वीरेन्द्रनगरका छाडा कुकुरका विषयमा गरेको टिप्पणी हो यो । वली र चपाइँ त प्रतिनिधि पात्र हुन् अहिले वीरेन्द्रनगरका सडकमा भेटिने छाडा कुकुरका कारण सवारी साधन र पैदल यात्रुका लागि टाउको दुखाईको विषय बनेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । बिहान मुख्य सडकमा हुलका हुल देखिने भुस्याहा कुकुरका कारण सवारी साधन दुर्घटना हुने खतरा त छ नै योसँगै सडकमा जथाभावी कुकुर हिँड्ने, बस्ने गर्नाले सडक फोहोर समेत बन्ने गरेको छ । कुकुरकै कारण पैदलयात्री, व्यापारी, सवारी चालकलाई समेत समस्या पर्ने गरेको छ ।

भुस्याहा कुकुरले टोक्ने, केटाकेटी, बुढाबुढीहरुलाई लखेट्ने गरेका घटना वीरेन्द्रनगरमा दिन प्रतिदिन वृद्धि हुनथालेका छन् । सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउरा छाउरी जन्माउने र ती छाउरा छाउरी सडकमै हुर्कने क्रम पनि बढिरहेको छ । अहिले बजारका गल्ली, सडक र चोकहरुमा दर्जनौँ यस्ता कुकुरको ताँती देखिन्छ । बजारका साना ठूला मासु पसल अगाडि फालेका हड्डी खानका लागि त्यस्ता कुकुरहरुको लुछाचुँडी नै हुने गर्दछ । त्यस्ता कुकुरहरुले बेलाबखत पैदल यात्रीलाई झम्टने गरेको स्थानीयको गुनासो छ । वीरेन्द्रनगर ६ की सुनिता थापाले कुकुरसँग धेरै डरलाग्ने बताइन् ।

‘हाम्रो टोलमा यति धेरै कुकुर छन कि, एकाबिहानै, साँझ र रातमा एक्लै हिड्न मुस्किल हुने गर्दछ ।’ उनले भनिन्, ‘कुकुरको डरले बिहान छ्याङ्ग उज्यालो भएपछि मात्र हिड्छु, साँझ र रातको समयमा त घरबाटै निस्कनै सकिदैँन ।’ अध्याँरो हुन शुरु गरेपछि वीरेन्द्रनगर सडकमा कुकुरका कारण पैदल हिड्नै कठिन हुने गरेको बताउछिन् मंगलगढी सुर्खेतमा व्यापार गरि बस्ने लक्ष्मी खड्का । यतिमात्र हैन तरकारी बिक्री गर्न राखिएका तरकारीहरू सडकका छाडा कुकुर आएर दिशा, पिसाब गरिदिने गरेको दुखेसो झरना सब्जिमण्डीकी सञ्चालक झरना बिकले गुनासो गरिन् । वीरेन्द्रनगर ११ का गाडी चालक डिलबहादुर चौधरीले छाडा कुकुरकै कारण सवारी साधन चलाउन समेत समस्या परेको बताए । 

छोडुवा कुकुरका कारण अहिले वीरेन्द्रनगर बजार क्षेत्रका स्थानियमा त्राश फैलिएको छ । प्रदेश अस्पतालमा मात्र दैनिक ५ देखि ८ जनासम्म कुकुरले टोकेका नयाँ बिरामी रेबिज बिरुद्धको खोप लगाउन आउने गरेको अस्पतालले जनाएको छ । यो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा एक सय ८९ जना नयाँ बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आएको प्रदेश अस्पतालकी इमेर्जेन्सी इन्चार्ज सकुन्तला सापकोटा (गौली) ले जानकारी दिनन् । उनका अनुसार छोडुवा कुकुरले टोकेका बिरामी धेरै छन् । त्यसैको हाराहारीमा निजी अस्पताल र क्लिनिकहरुमा समेत कुकुरको टोकाइ पीडित पुग्ने गरेका छन् ।

उनले भनिन्, कुकुुरको टोकाइबाट बिरामी परेका केही निजी अस्पताल र क्लिनिकहरुमा जाने गरेका छन् । क्लिनिकमा गएका बिरामीले पहिलो भ्याक्सिन लगाएपछि निःशुल्क रुपमा दोस्रो र तेस्रो भ्यक्सिन लगाउन अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । घरमा पालेका कुकुरलाई तिनका मालिकले एण्टी रेबिज भ्याक्सिन नियमित रुपमा लगाउने गरे पनि भुस्याहा कुकुरहरुलाई कसैले वास्ता नगर्दा रेबिज संक्रमणको खतरा अत्याधिक रहने इन्चार्ज गौलीले बताइन् । वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख योग्य पाण्डेले छोडुवा कुकुर नियन्त्रण र व्यवस्थापनमा चुनौती देखिएको बताए ।

उनले भने, ‘हामिले रेबिज रोग नियन्त्रण गर्नको लागि ठाँउ ठाँउमा शिविर सञ्चालन गरिरहेका छौ । तर कुन कुकुरलाई रेविज लागेको छ÷छैन छुट्याउन सकिदैन । छोडुवा कुकुरलाई नियमन र नियन्त्रण गर्न समस्या देखिएको छ ।’ यस विषयमा अहिले नै के गर्ने भन्ने योजना नगरपालिकाले बनाएको छैन । उनले भने, ‘एउटा पशु शाखाले मात्रै पनि केही गर्न सक्दैन । हामी नगरमा छलफल गरेर योजना बनाउँछौ ।’ विकास निर्माणमा फेरिदै गएको वीरेन्द्रननगरको सुन्दरतालाई बढ्दो छाडा कुकुरले चुनौती दिएको छ । सडक निमार्णले मात्र नगर सुन्दर नहुने भएकाले यस्ता छाडा कुकुर र चौपाया पनि नियन्त्रण हुन उत्तिकै आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top