होमपेज / समाज

एकै दिन चार सय बढी पुरोहितलाई प्रशिक्षण

नेपाल गाथा २०७६ कार्तिक २१ गते बिहीबार १३:०७:४७ मा प्रकाशित

चन्द्रा कँडेल, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले एकै पटक चार सयभन्दा बढी पुरोहितलाई प्रशिक्षण दिइएको छ । सामाजिक कुसंस्कारको रुपमा रहेको बालविवाहसम्बन्धी कानुनी व्यवस्थाको बारेमा पुरोहित तथा ब्राम्हणहरुलाई जानकारी दिन कर्णाली प्रदेशका १० वटा जिल्लामा बुधबार एकै दिन सचेतना तथा प्रशिक्षण कार्यक्रम राखिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । सचेतना तथा प्रशिक्षणमा चार सय ४४ जना पुरोहित तथा ब्राम्हणहरु सहभागी रहेका थिए ।

प्रशिक्षण कार्यक्रममा सबैभन्दा बढी सल्यान जिल्लामा ९२ जना पुरोहितले प्रशिक्षण लिएका छन् भने हुम्ला र पश्चिम रूकुममा सबैभन्दा कम २३ जना पुरोहित सहभागी भएका थिए । यसैगरी सुर्खेतमा ६५ जना, दैलेखमा ३९ जना, कालीकोटमा ४१ जना र जुम्लामा ५३ जना पुरोहितले प्रशिक्षण लिएका छन् । बालविवाह न्युनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा मुगुमा २५ जना, डोल्पामा ५१ जना र जाजरकोटमा ३२ जना पुरोहितहरुले प्रशिक्षण लिएका छन् । 

प्रशिक्षण कार्यक्रममा बालविवाहको प्रमुख कारणहरु र बालविवाहबाट हुने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा प्रजनन् स्वास्थ्य सम्बन्धी असरका बारेमा जानकारी दिइएको थियो । यसैगरी बालविवाहसम्बन्धी कानूनी व्यवस्था, बालविवाहबाट निम्तिने अन्य अपराधहरुका बारेमा प्रशिक्षण दिइएको थियो । विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितहरुलाई यसका जोखिमबारे दिइएको प्रशिक्षणले बालविवाह न्यूनिकरणमा सघाउ पुग्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरिक्षक पूर्णचन्द्र जोशीले बताए । 

सरकारी तथा गैर सरकारी कार्यालयहरुको अध्ययन अनुसार कर्णालीमा ५० प्रतिशतभन्दा बढी उमेर नपुग्दै विवाह हुने गरेको छ । कूल विवाहको आधाभन्दा बढी वालविवाह हुने गरे पनि यस्तो गैरकानुनी कामको उजुरीको संख्या भने न्यून रहेको प्रदेश प्रहरीले जनाएको छ । .कर्णाली प्रदेशभर २०७३÷७४ देखि हालसम्म जम्मा २९ वटा वालविवाहका उजुरी परेको प्र्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम श्रेष्ठले जानकारी दिए । त्यस्तै बालविवाहबाट उद्धार गरी एक सय ४४ जोडीलाई प्रहरीले अभिभावकको जिम्मा लगाइएको प्रहरी निरिक्षक श्रेष्ठले बताए । 

मुलुकी अपराध संहिता ऐन, २०७४ बमोजिम बालविवाहलाई अपराधको रुपमा परिभाषित गरिएको छ । यस्तो अपराध गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम अपराधिको रुपमा दण्डित गरिन्छ । साथै त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ । नेपालको कानून अनुसार २० वर्ष नपुगी कोही कसैले विवाह गरे वा गराएमा त्यसलाई बालविवाह भनिन्छ । नेपालमा १४ वर्षमुनिका १६ प्रतिशत बालिका र पाँच प्रतिशत बालकले विवाह गरेकोे प्रहरीको तथ्यांक रहेको छ । त्यस्तै १५ देखि १९ वर्षका ५८ प्रतिशत बालिका र ३७ प्रतिशत बालकले कम उमेरमा विवाह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top