होमपेज / समाज

सिम्रौनगढबाट १९ किलो चाँदीसहित एक पक्राउ

नेपाल गाथा २०७६ कार्तिक २ गते शनिबार १८:११:४७ मा प्रकाशित

बारा । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका-६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो। भारतबाट बीआर०६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए। बरामद चाँदीको बजार मूल्य करीब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ। बेवारिसे पेस्तोल बरामद बाराको करैयामाई गाउँपालिका-१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा बेवारिसे पेस्तोल फेलापरेको छ। विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्यांकी नजिक कालो प्लाष्टिकमा बेरी ढुंगामूनि लुकाइछिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ। विशेष सुराकीका आधारमा १० इन्च लामो एक थान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए। बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top