होमपेज / समाज

आवश्यक बजेट नदिएको भन्दै स्वास्थ्यकर्मीले गरे स्वास्थ्य चौकीमै तालाबन्दी

नेपाल गाथा २०७६ भाद्र २५ गते बुधबार १६:२७:५५ मा प्रकाशित

डडेल्धुरा– दुई वर्षदेखि स्वास्थ्य संस्थाहरुलाई आर्थिक रकम उपलब्ध नगराएको भन्दै डडेल्धुरास्थित अमरगढी नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीले नै तालाबन्दी गरेका छन्। 

स्थानीय सरकार बनेर जनप्रतिनिधि आएसँगै कार्यालय सञ्चालनदेखि कुनै पनि कामका लागि आर्थिक रकम स्वास्थ्य संस्थाहरुमा प्राप्त नभएकोले स्वास्थ्यकर्मीहरुले मंगलबारदेखि तालाबन्दी गर्दै अमरगढी नगरपालिकालाई चाबी बुझाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा संयोजक लोकराज भट्टले बताए।

उनले भने, ‘अमरगढी नगरकार्यपालिकाले विगतका वर्षमा पाउँदै आएको कार्यालय व्यवस्थापन रकम जनप्रतिनिधि आएपछि पाएनन्। कार्यालय सञ्चालनदेखि अरु कुनै पनि शिर्षकमा आर्थिक रकम स्वास्थ्य संस्थाहरुका लागि छुट्याइएको छैन।’ 

अमरगढी नगरपालिकाभित्र रहेका उग्रतारा स्वास्थ्य चौकी, भूमिराज स्वास्थ्य चौकी, सहश्रलिङ्ग स्वास्थ्य चौकी, घटाल स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र स्याउले र नगर स्वास्थ्य केन्द्र भलिया गरी आधा दर्जन स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले ताला लगाएको उग्रतारा स्वास्थ्य चौकी अमरगढी– ७ का इञ्चार्ज केशव भट्टले बताए। 

अमरगढी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरु विगतदेखि नै आर्थिक र भौतिक संरचनाको अभावबाट गुज्रिरहेका छन्। उनले भने, ‘विगत र गत आर्थिक वर्षमा कार्यालय सञ्चालनदेखि अरु कुनै पनि आर्थिक रकम स्वास्थ्य संस्थाहरुमा प्राप्त भएन। उग्रतारा स्वास्थ्य चौकीमा विद्युत् प्राधिकरण तीन पटक लाइन काट्न पुगिसकेको छ। समस्या समाधानका लागि हामीले  बारम्बार स्थानीय सरकारहरुलाई अनुरोध गर्दा पनि वास्ता नगरिएपछि ताला लगाउन बाध्य भएका हौं।’

विगत वर्षमा अर्थमन्त्रालयले तोकेर दिएको फिल्ड भत्ता समेत नियमअनुसार नदिइएको, करारमा रहेका स्वास्थ्यकर्मीलाई पूर्ण तलब नदिइएको, दरबन्दीमा रहेका करार कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नदिइएको, रात्रि सेवा दिने स्वास्थ्यकर्मीलाई भत्ता नदिइएको र कार्यालय सञ्चालनका लागि पनि बजेट सून्य रहेकाले तालाबन्दी गर्नु परेको उनले बताए।

नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले भने ताला नै नलगाएको जिकिर गरेका छन्। उनले भने, ‘गलत सन्देश प्रवाह नगरौं, ताला लागेको छैन। एक दुई स्वास्थ्य चौकीका इञ्र्चाजहरुले अपबाह फैलाएका छन्, हामी उनीहरुसँग छलफल गर्दै छौ। केही कुराहरुमा उहाँहरुको असष्तुष्टि छ, समाधान गर्छौं।’ स्वास्थ्यखबर पत्रिका ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top