ट्रेण्डिङ

होमपेज / समाज

आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालगाथा २०७८ बैशाख २२ गते बुधबार ०८:४२:३५ मा प्रकाशित

काठमाडौं। आज (बुधबार) देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले प्रदेश–१, वाग्मती र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि काठमाडौंसहित देशभर पानी परेको थियो । काठमाडौं र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले प्रिमनसुन हो । यस अवधिमा भारी वर्षा खासै हुँदैन । तर यस पटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद् बासीले बताइन् । ‘भारी वर्षा मनसुन (योपछि आउने सिजन) मा हुनुपर्ने हो,’ उनले भनिन्, ‘तर यसपालि प्रिमनसुनमै भारी वर्षाको सम्भावना देखियो ।’ उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ ।

‘यसपालि मनसुन पनि अलि चाँडै भित्रिएलाजस्तो संकेत देखिएको छ,’ उनले भनिन् । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविदले सुल्झाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top