होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दुईदिने भ्रमण सम्पन्न भएकाे छ । बैशाख २५ गतेबाट सुरु भएकाे भ्रमण कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देव राज अधिकारी, वर्ल्ड बैंक टिम लिडर मोहन अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव जय प्रसाद आचार्य सहित डा. नम्रता तोग्नाटा, ट्रेसी घले, द्रोण पुन र कपिल रिजालगरी सात सदस्यीय टोलि रहेको थियो ।
संयुक्त भ्रमण टोलीका सदस्यहरुलाई मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले स्वागत गरेका थिए । भ्रमणको पहिलो दिन मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी, सुर्खेत स्थित सेमिनार हलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता र उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।
उक्त कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले समग्र विश्वविद्यालयको भिजन र मिसनका साथै पछिल्लो समय विश्वविद्यालयले गरेका प्रगतिका कार्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अथिति प्रा. डा. अधिकारीले विश्वविद्यालयले गरेका कार्यहरुको प्रशंसा गर्दै विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
अन्तरक्रिया कार्यक्रममा वर्ल्ड बैंक परियोजनाका टिम लिडर अर्यालले भ्रमणको उदेश्य र परियोजना बारे प्रस्तुतीकरण गरेका थिए। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालले विश्वविद्यालयको डिजिटल नीति तथा प्रगतिका बारेमा प्रस्तुति दिएका थिए । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव जयप्रसाद आचार्यले मन्त्रालयको शिक्षा नीति तथा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वर्ल्ड बैंकको संयुक्त टोली, मध्यपचिम विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण ग्र्याजुएट स्कुलका डीनज्यूहरु, सम्पूर्ण पदाधिकारीज्यूहरु, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात, स्थलगत भ्रमण टोली तथा विश्वविद्यालयका पदाधिकारीहरुले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रसाशनिक भवन परिसर, मोलिक्युलर ल्याब, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), ग्र्याजुएट स्कुल अफ एडुकेशन, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिंग लगायत केन्द्रीय विभागहरुको स्थलगत भ्रमण गरेकाे विश्वविद्यालय स्राेतले जनाएकाे छ ।
.jpg)
.jpg)
भ्रमणको दोस्रो दिन बैशाख २६ गते उक्त टोली ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री (रामघाट) को भ्रमणमा पुगेका थिए । उक्त भ्रमणमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीद्वारा गरिएका गतिबिधिहरुको अवलोकनका साथै पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी बीच अन्तरक्रिया सम्पन्न भएको थियो ।
.jpg)
.jpg)
भ्रमण पश्चात ग्र्याजुएट स्कुल अफ एजुकेशनको सेमिनार हलमा दोस्रो दिनकाे समीक्षात्मक बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा विभिन्न ग्र्याजुएट स्कूलका डीनज्यूहरुले आ-आफ्नो स्कुलहरुको प्रगति तथा जानकारीमुलक प्रस्तुति गरेका थिए ।
बैठकमा आयोगका अध्यक्ष प्रा.डा. अधिकारीले विश्वविद्यालयको समग्र प्रगति र सकारात्मक प्रयासहरुको प्रसंशा गर्दै अबको दिनमा अझै थप शैक्षिक गुणस्तर वृद्धिमा सबैले एकजुट भएर लाग्नु पर्ने उल्लेख गरेका थिए। बैठकको अन्तमा विश्वविद्यालयका उपकुलपतिज्यूले विश्वविद्यालयमा भएका विकृति र गलत क्रियाकलापहरुमा प्राध्यापक, कर्मचारी र विद्यार्थी जो-कोही पनि नलाग्न र नियम-संगत तवरले विश्वविद्यालयको उन्नतिको कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका थिए ।
समीक्षात्मक बैठक पश्चात संयुक्त टोलीद्वारा मध्यपश्चिम विश्वविद्यालय विश्वव्यापी भाषा तथा व्यवसायिक सिप विकास केन्द्रको भ्रमण तथा अवलोकन समेत गरेका थिए ।